काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको संवैधानिक परिषद्को सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको निर्णय संविधानको मर्मविपरीत रहेको दाबी गरेका हुन् ।
रिटमा न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप हुने गरी गरिएको सिफारिसले न्यायालयलाई कार्यपालिकाको प्रभावमा लैजान खोजिएको उल्लेख गरिएको छ । त्रिपाठीले संवैधानिक परिषद्को उक्त निर्णय बदर गर्न र पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई प्रधानन्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गरेका छन् ।
रिट हाल दर्ता प्रक्रियामा रहेको जनाइएको छ । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह को नेतृत्वमा बहुमतबाट सपना प्रधान मल्ललाई पछि पार्दै डा. मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको थियो ।