काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रै म्याद गुज्रिएको दही बिक्री भइरहेको भेटिएपछि ‘हाम्रो खाजा घर’ नामक चमेनागृहलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले बुधबार गरेको आकस्मिक बजार अनुगमनका क्रममा उक्त कैफियत फेला पारेको हो ।
विभागका अनुसार उजुरीपछि खटिएको टोलीले काठमाडौं महानगरपालिका–११ स्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को चमेनागृहमा अनुगमन गर्दा म्याद सकिएको दही बिक्री भइरहेको भेटिएको थियो ।
अनुगमनका क्रममा बिक्रीका लागि राखिएको दहीको उपभोग्य मिति समाप्त भइसकेको पाइएपछि तत्काल कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अन्तर्गत कसुर ठहर गर्दै दफा ३९ (१) (ख) अनुसार जरिबाना गरिएको विभागको भनाइ छ ।
विभागले म्याद गुज्रिएको दही उत्पादन गर्ने लाई समेत अनुसन्धानको दायरामा ल्याएको जनाएको छ। डेरी सञ्चालकलाई तीन दिनभित्र व्यवसाय दर्ता प्रमाणपत्र र दही बिक्रीसम्बन्धी बिलसहित उपस्थित हुन निर्देशन दिइएको छ ।