काठमाडौं । संघीय संसदका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु गरिएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा सांसदहरूको उपस्थितिलाई विद्युतीय माध्यमबाट अभिलेखन गर्ने उद्देश्यले बिहीबारदेखि उक्त प्रक्रिया थालिएको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार हाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति तथा विधायन व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सम्पन्न भइसकेको छ ।
त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरूको विवरण संकलन कार्य जारी रहेको बताइएको छ ।
संसद सचिवालयका अनुसार शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिनेछ ।
यस्तै वैशाख २८ गते सार्वजनिक लेखा समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको विवरण संकलन गरिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । संसद बैठकमा उपस्थितिको अभिलेखलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन बायोमेट्रिक प्रणाली लागू गर्न लागिएको बताइएको छ ।