बस्ती हटाइएपछि विस्थापितको गुनासो : सामान निकाल्न समेत समय दिइएन

925 Shares

काठमाडौं । खोला किनारका सुकुम्वासी बस्ती हटाइएपछि विस्थापित भएका परिवारहरूले सरकारले घर भत्काउँदा सामानसमेत निकाल्न समय नदिएको गुनासो गरेका छन् । बस्ती हटाइएपछि अहिले सयौं परिवार उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन् ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बस्दै आएकी ७१ वर्षीय कान्छी थापाले सरकारले केही दिन समय दिएको भए सामान निकाल्न सकिने बताइन् । धादिङ घर भएकी उनी २० वर्षभन्दा बढी समयदेखि गैरीगाउँ सुकुम्वासी बस्तीमा बस्दै आएकी थिइन् । अहिले उनीसँग लगाएको कपडाबाहेक केही बाँकी नरहेको उनले बताएकी छन् ।

शंखमुलबाट विस्थापित वीरबहादुर तामाङले बुबाआमाले बसोबास गरेको घरमा डोजर चलेपछि परिवार नै टुक्रिन पुगेको बताए । उनका छोरा–बुहारी र नातिनातिना ललितपुरको लुभुमा कोठा लिएर बस्न गएको उनले जानकारी दिए ।

बल्खुबाट विस्थापित मञ्जु तामाङले आफूहरू रहरले नभई बाध्यताले खोलाकिनारमा बस्नुपरेको बताइन् । विदेशमा दुःख गरेर कमाएको रकमले बनाएको घर डोजरले भत्काएपछि अहिले आफूहरू घरबारविहीन बनेको उनको भनाइ छ ।

विस्थापित परिवारहरूले तत्काल अस्थायी आवास, खाद्यान्न, रोजगारी तथा दीर्घकालीन पुनर्स्थापनाको माग गरेका छन् । उनीहरूले सानो जग्गा उपलब्ध गराएर पुनर्स्थापना गर्न तथा साना व्यवसायका लागि सहुलियतपूर्ण ऋण व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

 
 
सम्बन्धित समाचार