काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल ले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत कृषि क्षेत्रको रूपान्तरण गर्न संघीय सरकारसँग ठोस हस्तक्षेपको माग गरेको छ ।
महासंघले अर्थ मन्त्रालयलाई सुझावपत्र बुझाउँदै कृषि प्रणाली र खाद्य प्रणालीलाई आत्मनिर्भर बनाउने गरी बजेट तथा नीतिगत व्यवस्था गर्न आग्रह गरेको हो ।
महासंघले किसानको हकअधिकारका लागि विगत १५ वर्षदेखि स्थानीयदेखि राष्ट्रिय तहसम्म सक्रिय रूपमा काम गर्दै आएको उल्लेख गर्दै कृषि क्षेत्रलाई राष्ट्र निर्माणको आधारका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
महासंघका अनुसार हाल देशभर १३ हजार कृषक समूह, ३ लाख ९० हजार घरधुरी, ४५३ पालिका, ७१ जिल्ला तथा सातै प्रदेशमा संगठनको संरचना सक्रिय रहेको छ ।
महासंघले कृषिसँग सम्बन्धित विभिन्न सरकारी समितिमा संस्थागत प्रतिनिधित्व गर्दै आएको जनाउँदै सीमान्त, भूमिहीन, महिला तथा साना किसानलाई केन्द्रमा राखेर नीति पैरवी, संगठन विस्तार, कृषि नवप्रवर्तन तथा स्थानीय सरकारसँग सहकार्य गर्दै आएको जनाएको छ ।