काठमाण्डौ । रोल्पामा घरभित्र पसेको भन्दै एक बालकलाई कुटपिट भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको गंगादेव गाउँपालिका वडा नम्बर ५ कुइनेटा बस्ने पूर्णबहादुर विकका ११ वर्षीय छोरालाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
अहिले तीन जना पक्राउ गरिएको र थप व्यक्ति पनि पक्राउ गर्न पर्ने भएकाले परिचय नखुलाएको रोल्पाका डिएसपी विरेन्द्र विश्वकर्माले जानकारी दिए । उनका अनुसार घटना वैशाख ११ गते साँझको हो ।
११ वर्षीय बालक एक व्यक्तिको घरभित्र पसेको भन्दै अनुहारमा चोट र सुन्निने गरी कुटपिट गरेको आरोप छ । बालकको तस्बिरभिडिओ सामाजिक सञ्जालबाट बाहिरिएको थियो । कसको घरमा यो घटना भएको हो र घटनामा को-को संलग्न थिए पनि प्रहरीले खुलाइसकेको छैन ।
उक्त घटानाका सम्बन्धमा प्रहरीमा सोमबार जाहेरी समेत परेको छ । ‘घरभित्र पसेको निहुँमा कुटेको भन्ने छ । पहिले बालकमाथि कुटपिट भयो । पछि त्यही विषयमा झडपसमेत भएको रहेछ,’ उनले भने, ‘पक्राउ परेका तीनै जनामाथि सोधपुछ गर्न बाँकी छ, अनुसन्धान सुरू भएको छ ।’ उनीहरूमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।