थाइल्यान्डमा अन्त्येष्टिका लागि मन्दिर पुर्याइएकी एक महिला कफिनभित्रै हलचल गरेको अविश्वसनीय घटनापछि पुनः जीवित भेटिएकी छन्। यो अद्भुत क्षणको भिडियो सामाजिक सञ्जालमा तीव्रगति फैलिन थालेपछि चर्चा विश्वभर पुगेको छ। नोन्थाबुरी प्रान्तको ‘वाट रात प्राखोङ थाम’ बौद्ध मन्दिरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो घटना सार्वजनिक गरेको हो।
भिडियोमा सेतो कफिनमा राखिएकी ६५ वर्षीया महिला पिकअप ट्रकको पछाडिबाट हात र टाउको हल्का हल्लाइरहेको देखिन्छ। आकस्मिक हलचल देखेपछि मन्दिरका कर्मचारीहरू पूर्ण रुपमा अचम्भित बने। मन्दिरका सामान्य तथा आर्थिक मामिला व्यवस्थापक पैरात सुदथुपले एसोसिएटेड प्रेससँग कुरा गर्दै घटनाको विवरण सुनाए।
उनका अनुसार ती महिलालाई उनका दाइ फित्सानुलोक प्रान्तबाट अन्त्येष्टिका लागि मन्दिरमा ल्याएका थिए। “हामीले कफिनबाट हल्का ढकढक आवाज सुन्दा सुरमा विश्वासै लागेन,” पैरातले भने, “कफिन खोलेपछि उनी हल्का आँखा खोल्दै कफिनको छेउमा थपथपाइरहेकी थिइन्। उनले धेरैबेरदेखि सहायता मागिरहेको हुनसक्छ।”
पैरातले घटनालाई अझ स्पष्ट गर्दै बताए कि महिलाको स्वास्थ्य अवस्था लामो समयदेखि कमजोर थियो। दाइका अनुसार उनी करिब दुई वर्षदेखि ओछ्यानमै थिए। स्वास्थ्य जटिलता बढ्दै गएपछि दुई दिनअघि उनले सास फेर्न छोडेजस्तो देखिएकी थिइन्। मृत घोषणा भएको ठान्दै दाइले उनलाई सेतो कफिनमा राखेर बैंककको अस्पतालतर्फ ५०० किलोमिटर (३०० माइल) यात्रा सुरु गरेका थिए, किनभने ती महिलाले अंगदान गर्ने इच्छा पहिले नै व्यक्त गरेकी थिइन्।
अन्त्येष्टिका तयारीकै बीचमा भएको यो चमत्कारिक क्षणले परिवार, मन्दिरका कर्मचारी र स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। अहिले घटनाको थप चिकित्सा परीक्षण भइरहेको बताइन्छ।