असोज २५, काठमाण्डौँ । ने.क.पा. (एमाले) को कीर्तिपुरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक विधिअनुसार सो कार्यालय भवनको शिलान्यास गरेका छन् ।
कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो ।
एमालेले पार्टी सदस्यहरुको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । सो जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङले उपलब्ध गराएका हुन् ।
सत्तारुढ दल एमालेलाई जग्गा उपलब्ध गराउने व्यावसायी गुरुङ बालुवाटारस्थित ललितानिवासको नाममा रहेको सरकारी जग्गा प्रकरणमा निवर्तमान प्रचण्ड नेतृत्वको सरकारको कार्यकालमा करिव दुइ महिना प्रहरी अनुसन्धानमा तानिएका थिए । उनलाई सरकारी वकिल कार्यालयको माग विपरित अदालतले भने मुद्दा चलाउन अस्वीकार गरेको थियो ।
२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका-१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो ।
हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम शुरु गरिएको एमालेले जनाएको छ ।