सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरिएको छ।मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा प्रयोगशाला उद्धघाटन गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुमताज मिक्रानीले जानकारी दिए ।

उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा अब थाइराइड परीक्षण,सोडियम पोटासियमको जाँच, एक्सरे सेवा र प्रसुतितर्फ शल्यक्रिया (सीएस) सेवा प्रदान हुने छ ।लालबन्दी नगरपालिका ९ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा केही हप्तादेखि स्त्री रोग विशेषज्ञ डाक्टर रामविश्वास रायले स्त्री तथा प्रसुति तर्फको सेवा सुरु गरेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
डा.रायलाई प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख बनाएरपछि अहिले सो स्वास्थ्य संस्थालाई नगर अस्पताल लेख्न थालिएको र सोही अनुसार सेवा सुरु गरिएको लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष नारायण अधिकारीले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिका ९, मा रहेको पाँच शैयाको प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेलाई १५ शैयाको नगर अस्पतालका रुपमा स्तरोन्नति गरिएपछि शुक्रबार औपचारिक कार्यक्रम गरेर अस्पतालको सेवा प्रारम्भ गरिएको हो ।
लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह,लालबन्दी नगरपालिकाका १६ का वडाध्यक्ष एवम नगर प्रवक्ता गणेशबहादुर थापा,नेपाली(कांग्रेस) मधेश प्रदेश प्रदेश कार्य समितिको स्वास्थ्य विभाग प्रमुख सर्मिला थापा,जग्गादाता एवम नेपाली कांग्रेसका नेता प्रशान्त आचार्य,कांग्रेसका नेता सीताराम दाहाल,नेकपा(एमाले)का नेता गोविन्द बहादुर महत,नेकपा(माओवादी केन्द्र)का नेता रामनारायण चौधरीलगायतको विशेष आतिथ्यता रहेको नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।