मधेशको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको मन्त्री सिंहको दावी

2.6k Shares

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वरिन्द्र प्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्था सुधार हुँदै गएको दावी गरे । लालबन्दीमा लालबन्दी नगर अस्पतालको सेवा प्रारम्भ एवम जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्न सर्लाही आएका मन्त्री सिंहले मधेश प्रदेशलाई स्वस्थ प्रदेश बनाउन लागि परेको बताए ।उनले प्रदेशभित्र अहिले रहेका प्रादेशिक अस्पतालहरुलाई एक सय शैया तथा प्रादेशिक अस्पताल जनकपुरलाई तीन सय शैयामा स्तरोन्नति गर्ने र पाँच स्थानमा ५० शैयाको नयाँ अस्पताल निर्माण गर्ने गरी यो वर्ष बजेट विनियोजन गरिएको बताए ।


यि अस्पताललाई नभइ नहुने उपकरणको व्यवस्थापन,आवश्यक जनशक्ति पदपूर्ति र भौतिक पूर्वाधार निर्माण गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । मन्त्री सिंहले अब अरुलाई दोष देखाएर उम्किने छुट नरहेको भन्दै मधेश प्रदेशबासीले उपचारका लागि भरतपुर,काठमाडौंलगायतका शहरमा जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य मन्त्रालय लागि परेको दाबी गरे ।पूर्व–पश्चिम लोकमार्गसंग जोडिएको लालबन्दी नगर अस्पतालसँग जनताले धेरै अपेक्षा राखेका कारण नागरिकको विश्वास जितेर उपचार सेवा प्रदान गर्न सक्नुपर्नेमा मन्त्री सिंहले जोड दिए ।
लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्र र नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको आँखा उपचार केन्द्रको संचालन तथा लालबन्दीमा गरेको रक्तसंचार केन्द्र (ब्लड बैंक)लाई पनि चुसतदुरुस्त राख्न आफुले सकेको पहल गर्ने मन्त्री सिंहले बताए । पछिल्ला वर्षहरुमा जनसंख्याको अत्यधिक चाप बढेको लालबन्दी क्षेत्रमा रहेको नगर अस्पतालबाट सहज सेवा प्रवाहका लागि स्थानीय सरकारले पनि ध्यान दिनु पर्ने र केही समस्या भएमा आफुलाई जानकारी गराउन मन्त्री सिंहले आग्रह गरे ।
मन्त्री सिंहले लालबन्दी नगर अस्पतालमा सञ्चालनमा ल्याइएको जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशकै उत्कृष्ट प्रयोगाशाला रहेको दाबी गरे । उनले मधेश प्रदेशका प्रत्येक एक सय ३६ वटै पालिकामा जनस्वास्थ्य प्रयोगशाला,प्रदेशमै पहिलो पटक जिन स्क्वेिन्सिङ गर्ने उपकरण,मधेश प्रदेशका प्रत्येक जिल्लामा पीसीआर मेसिनको व्यवस्थासहित स्वास्थ्य क्षेत्रमा थुप्रै सकारात्मक काम भएपनि प्रचार प्रसार नभएको गुनासो गरे ।

सम्बन्धित समाचार