सर्लाहीको हरिपुर्वा नगरपालिका २ मा निर्मित १५ शैयाको नगर अस्पताल भवन निर्माण सम्पन्न भएको लामो समय भई सक्दा समेत प्रयोगमा आउन सकेको छैन् ।तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गरेको हरिपुर्वा नगरपालिका २ स्थित निर्माण भएको १५ शैयाको नगर अस्पताल निर्माण सम्पन्न भएको डेढ वर्ष हुँदा समेत प्रयोगमा नआएको हो ।
निर्माण भएको अस्पताल भवन सञ्चालनमा नआउँदा आफ्नै ठाउँमा अस्पताल भएपनि सेवा लिन अन्यन्त्र जानु परेको हरिपुर्वाका स्थानीय राम विनय यादवले गुनासो गरे । उनका अनुसार सामान्य बिरामी पर्दासमेत उपचारका लागि लालबन्दी,मलंगवा,बर्दिवास,जनकपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता रहेको छ ।
“गाउँमै यति ठुलो अस्पताल भवन बनेको छ तर सञ्चालन गर्न जनप्रतिनिधिहरुले चासो देखाएका कारण आमनागरिक सामान्य बिरामी पर्दा पनि टाढा टाढासम्म धाउनुपर्ने बाध्यता छ ।”स्थानीय यादवले बताए ।अस्पताल भवन निर्माणका लागि हरिपुर्वा नगरपालिका २ का स्थानीय विनोद साहले १० कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएका थिए ।सोही जमिनमा निर्माण भएको १५ शैयाको अस्पताल भवन भने अहिले अलपत्र परेको छ ।
निर्माण भएको अस्पताल सञ्चालन नहुँदा स्थानीयले सास्ती खेपिरहेका जग्गाद दाता साहले बताए ।“गाउँमा धेरैको अकालमा मृत्यु भएको र महिलालाई प्रसूति गराउन जनकपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यता देखेर गाउँमै अस्पताल निर्माण होस् भनी जग्गा दिएँ,अस्पताल पनि निर्माण भयो तर प्रयोगमा आउन सकेन् ।”साहले गुनासो गरे ।विभिन्न राजनीतिक विवादले नगर अस्पताल भवन निर्माण हुनै करिब १० वर्ष लागेको थियो भने निर्माण भएपछि पनि सञ्चालन हुन सकेको छैन ।राजनीतिक खिचातानीका कारण अस्पताल यसरी अलपत्र परेको जग्गादाता साहको भनाइ छ ।
अस्पताल सञ्चालन नहुँदा गाउँका गरिब तथा विपन्न परिवारका मानिस महँगो एम्बुलेन्स भाडा तिरेर अन्यत्र जान बाध्य भएका हरिपुर्वा नगरपालिका २ का वडाध्यक्ष दिनेश राय यादवले बताए ।“यहाँ कोही आकस्मिक बिरामी परेर उपचार गर्न एम्बुलेन्समा जनकपुर जानु पर्दा रु पाँच हजार,काठमाडौँ जाँदा रु १६ हजार र मलंगवा जाँदा रु तीन हजार भाडा तिर्नु पर्छ,कमसेकम निर्माण भएको नगर अस्पताल प्रयोगमा आए स्थानीयलाई त्यति सास्ती हुने थिएन् ।”वडाध्ययक्ष यादवले बताए ।
१५ शैयाको नगर अस्पताल सञ्चालनका लागि आफूले गत आर्थिक वर्ष २०७९÷०८० मै रु एक करोड बजेट विनियोजन गरे पनि नगरका जनप्रतिनिधिहरुले सो बजेट चलाउन खोज्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलाई दुव्र्यवहार नै भएकाले अस्पताल सञ्चालनमा आउन समय लागेको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोदकुमार साह तेलीले बताए । उनले चालु आव २०८०÷०८१ मा नगर सभा नै नभएर बजेट पारित नभएकाले अस्पताल सञ्चालन गर्न नसकिएको स्वीकार गरे ।
“बजेट चल्नासाथ डाक्टरको व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्ने योजना छ,”नगर प्रमुख साहले भने“प्रमुख प्रशासकीय अधिकृत नभएर चालु आर्थिक वर्षको नगर सभा गर्न नपाएको कारण वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नपाएको नगर प्रमुख साहले बताए । हरिपुर्वा नगरपालिका विगत करिब १५ महिनाको अन्तरालमा सातजना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भई सकेको भएपनि चालु आर्थिक वर्षको नगर सभा हुन सकेको छैन् ।