मकवानपुरमा सुपथ मूल्यका खाद्यान्न आठ लाख रुपैयाँभन्दा बढीको बिक्री

932 Shares

बागमती। चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको छ।

सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयबाट नुन, चिनी, तेल र मैदा छुट मूल्यमा बिक्री हुँदै आएको छ। दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको कार्यालय प्रमुख मधुसूदन अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार सर्वसाधारणलाई समान रूपमा छुटको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराइएको थियो।

बजारमा प्रचलित मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको अधिकारीले बताउनुभयो।

कार्यालयका अनुसार उक्त अवधिमा ५० किलोका ६० बोरा चिनी, १० क्विन्टल नुन, सात क्विन्टल पिठो तथा मैदा र ५०० लिटर तेल बिक्री भएको छ।

चाडपर्व लक्षित सुपथ मूल्य पसल कात्तिक मसान्तसम्म सञ्चालन हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो।

साल्ट ट्रेडिङ कर्पोरेसनले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी गत असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। संस्थाले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङलगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ।

सम्बन्धित समाचार