नारायणी नदीको कटान रोक्न सरकारको पहल, जोखिम क्षेत्रको सुरक्षाका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाइने

659 Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट प्रभावित बजार क्षेत्रको संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ।

नारायणी नदी किनारमा कटानका कारण सिर्जना भएको जोखिमको स्थलगत निरीक्षणपछि उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा उहाँले नागरिकको जीवन, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउन आवश्यक कदम चालिने बताउनुभयो।

सभापति लामिछानेले नदी कटानको समस्या समाधानका लागि तत्काल गर्नुपर्ने काम र दीर्घकालीन योजनालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार बजार क्षेत्रमा देखिएको जोखिमबारे जानकारी प्राप्त भएपछि सम्बन्धित निकायलाई सक्रिय बनाइएको छ भने आवश्यक अध्ययनका लागि टोलीसमेत परिचालन भइसकेको छ।

उहाँले जनताको सुरक्षा बजेटभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित राख्नु राज्यको पहिलो दायित्व भएको बताउनुभयो।

प्राविधिक अध्ययनबाट बजार क्षेत्रलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था देखिन सक्ने सम्भावनासमेत उहाँले औँल्याउनुभयो। यस्तो अवस्था आए सबै सरोकारवालाको सहमतिमा निर्णय लिनुपर्ने उहाँको भनाइ थियो।

लामिछानेले चितवन आफ्नो निर्वाचन क्षेत्र भएकै कारण विशेष प्राथमिकता दिनुपर्ने धारणा नराखेको स्पष्ट पार्दै देशका अन्य प्रभावित क्षेत्रको समस्या पनि समान रूपमा सम्बोधन हुनुपर्ने बताउनुभयो। कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको समस्या पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।

अध्ययनबाट पहिचान भएका आवश्यक योजनाका लागि स्रोत सुनिश्चित गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रभावित क्षेत्रका सरोकारवालालाई आश्वस्त रहन आग्रह गर्नुभयो।

छलफलमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नारायणी नदीको कटानले बजार क्षेत्रमा गम्भीर जोखिम निम्त्याएको भन्दै यसको दीर्घकालीन समाधानका लागि आवश्यक योजना बनाउन आग्रह गर्नुभयो।

नदी कटानको समस्याबारे समयमै जानकारी गराई अध्ययन टोली परिचालन गर्न सहयोग गरेको भन्दै लामिछानेले उद्योग वाणिज्य सङ्घलाई धन्यवाद दिनुभएको थियो।

सम्बन्धित समाचार