डोल्पा । नेपालको प्राकृतिक सौन्दर्यको अनुपम उदाहरणका रूपमा रहेको शे–फोक्सुण्डो ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। डोल्पा जिल्लास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र रहेको यो ताल नीलो पानी, अग्ला हिमाल, हरियाली पहाड र मनमोहक प्राकृतिक दृश्यका कारण प्रसिद्ध छ।
समुद्री सतहबाट करिब ३ हजार ६११ मिटर उचाइमा अवस्थित यो ताल रिङ्मो गाउँ नजिकै रहेको छ। काञ्जिरोवा हिमालको काखमा रहेको फोक्सुण्डो तालको गहिराइ करिब ६५० मिटर रहेको छ। वाई आकारमा फैलिएको तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर रहेको छ।
तालको नीलो र स्वच्छ पानी, वरिपरिका अग्ला पहाड तथा प्राकृतिक भू–बनोटले यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ। मौसम र प्रकाशअनुसार तालको पानीको रङ फरक देखिने भएकाले यसको सौन्दर्य थप आकर्षक देखिन्छ।
पदयात्राको रोमाञ्चक गन्तव्य
फोक्सुण्डो ताल पुग्न डोल्पाको सदरमुकाम दुनैबाट पैदल यात्रा गर्नुपर्छ। दुनैबाट छेप्का, सैजोल र फोक्सुण्डो झरना हुँदै करिब दुईदेखि तीन दिनको पदयात्रापछि तालसम्म पुग्न सकिन्छ।
यस यात्राका क्रममा पर्यटकले सुलीगाड झरना, रिङ्मो गाउँ, हिमाली वनजङ्गल, खोलानाला तथा विभिन्न वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गर्न पाउँछन्।
ताल नजिकै रहेको रिङ्मो गाउँको मौलिक संस्कृति, परम्परा र बौद्ध गुम्बाहरूले पनि यस क्षेत्रको पर्यटकीय महत्त्व बढाएका छन्।
वर्षैभरि अवलोकन गर्न सकिने भए पनि असोज र कात्तिक महिना फोक्सुण्डो भ्रमणका लागि उपयुक्त मानिन्छ। यस समयमा मौसम अनुकूल हुने भएकाले ताल र आसपासका हिमाली दृश्यको आनन्द लिन सकिन्छ।
प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार विकास गर्न सके शे–फोक्सुण्डो तालले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने देखिन्छ।