नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारलाई पुनःस्थापना गर्ने उद्देश्यले अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) ले श्रमदान अभियान सञ्चालन गरेको छ ।
गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित बस्तीका घरमा जमेको लेदो, माटो तथा अन्य फोहोर हटाउन महासंघले श्रमिक नेता तथा कार्यकर्ताको टोली परिचालन गरेको हो ।
महासंघका उपाध्यक्ष सोम तामाङको नेतृत्वमा करिब ५० जनाको टोली कात्तिक १० गतेदेखि प्रभावित क्षेत्रमा खटिएको छ । टोलीले बाढीले पुरिएका तथा क्षति पुर्याएका घरभित्र र वरपर जमेको लेदो, माटो र फोहोर हटाउने काम गरिरहेको छ । साथै, घरलाई पुनः बस्नयोग्य बनाउन आवश्यक प्रारम्भिक कामसमेत अघि बढाइएको छ ।
बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१ लगायतका प्रभावित बस्तीका घरमा लेदो, माटो र अन्य फोहोर पदार्थ थुप्रिएका छन् । कतिपय घर पूर्ण रूपमा भत्किएका छन् भने केही घर बस्नै नमिल्ने अवस्थामा पुगेका छन् ।
लामो समयदेखि सरसफाइ र पुनर्निर्माणको प्रतीक्षामा रहेका प्रभावित परिवारलाई आफ्नै घरमा फर्कने वातावरण बनाउन श्रमदान अभियान सञ्चालन गरिएको महासंघले जनाएको छ ।
अभियानअन्तर्गत श्रमिकहरूको टोलीले घरभित्र र बाहिर थुप्रिएको माटो तथा फोहोर हटाउने, सरसफाइ गर्ने र पुनर्निर्माणका लागि आवश्यक सहयोग पुर्याउने काम गरिरहेको छ ।
अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले बाढीबाट घरबारविहीन तथा प्रभावित बनेका परिवारलाई पुनः आफ्नै घरमा फर्काउन श्रमिकहरूको सामूहिक श्रमदान महत्त्वपूर्ण हुने बताएका छन् ।
उनका अनुसार विपद्का कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्नु श्रमिक वर्गको सामाजिक दायित्वसमेत हो । प्रभावित परिवारले सुरक्षित रूपमा बसोबास गर्न सक्ने वातावरण निर्माणका लागि श्रमिकहरूको साथ र सहयोग निरन्तर रहने उनले बताएका छन् ।
महासंघले श्रम, सहयोग र एकतामार्फत पीडित समुदायलाई साथ दिने उद्देश्यले अभियान सुरु गरेको जनाएको छ ।
श्रमदान अभियानले बाढी प्रभावित परिवारको घर सरसफाइ तथा पुनर्स्थापनामा सहयोग पुग्ने र समुदायमा आपसी सहयोग एवं सामाजिक एकताको भावना बलियो बन्ने अपेक्षा गरिएको छ ।