काठमाडौं । नेपालमा तीन दिनदेखि प्रभाव पारिरहेको चक्रवात ‘अर्नब’को असर शनिबार अपराह्नदेखि अन्त्य भएको छ। चक्रवातको प्रभाव कमजोर भएसँगै देशभरको मौसम क्रमिक रूपमा खुल्दै गएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवातपछि विकसित न्यूनचापीय मौसमी प्रणाली नेपालको पश्चिमी क्षेत्र हुँदै पूर्वतर्फ सरेर बाहिरिएपछि मौसममा सुधार आएको हो।
उक्त मौसमी प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपात भएको थियो। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको थियो। वर्षा र हिमपातका कारण शुक्रबारदेखि शनिबार दिउँसोसम्म सर्वसाधारणको आवागमन तथा दैनिक गतिविधिमा समेत असर परेको थियो।
आजदेखि मौसममा क्रमिक सुधार
मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘अर्नब’को अवशेषका रूपमा पश्चिम नेपालनजिक रहेको न्यूनचापीय प्रणाली कमजोर भइसकेको छ। माथिल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव मात्र बाँकी रहेकाले मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको छ।
आइतबार लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्ने तथा अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
दिउँसो देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै, राति पनि देशभर आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
तराईमा हुस्सुको सम्भावना
मौसममा सुधार हुँदै गए पनि तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु लाग्न सक्ने पूर्वानुमान गरिएको छ।
हुस्सुका कारण बिहानको समयमा दृश्यता कम हुन सक्ने भएकाले सडक तथा हवाई यातायातमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
चक्रवात ‘अर्नब’को प्रभाव अन्त्य भएसँगै वर्षा र हिमपातबाट प्रभावित जनजीवन सामान्य बन्दै जाने अपेक्षा गरिएको छ। यद्यपि, हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेकाले मौसमसम्बन्धी सूचना अद्यावधिक राख्न विभागले आग्रह गरेको छ।