हामी नर्कबाट फर्कियौँ’ : रुसी कब्जामा रहेको युक्रेनी सहरबाट सयौँ नागरिकको उद्धार

1.3k Shares

काठमाडौं । रुसको कब्जामा रहेको युक्रेनको अग्रपङ्क्तिमा पर्ने ओलेश्की सहरबाट सयौँ सर्वसाधारणको उद्धार गरिएको छ। युद्धका कारण चार वर्षदेखि कठिन र भयावह जीवन बिताइरहेका उनीहरू मानवीय युद्धविरामको अवसरमा सुरक्षित स्थानमा पुगेका हुन्।

उद्धार गरिएका नागरिक शनिबार बेलारुस हुँदै युक्रेनको उत्तरी क्षेत्र चेर्निहिभ पुगेका हुन्। उनीहरूमध्ये धेरैले वर्षौँदेखि भेट्न नपाएका आफन्तसँग पुनर्मिलन गरेका छन्। सुरक्षित स्थानमा पुगेपछि उनीहरूले आफूहरूले भोगेको पीडादायी अवस्थालाई ‘नर्कबाट फर्किएजस्तै’ भएको बताएका छन्।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेसँगै ओलेश्की सहर रुसी सेनाको नियन्त्रणमा पुगेको थियो। खेरसोन क्षेत्रमा पर्ने उक्त सहर ड्निप्रो नदी र रुसी सेनाको घेराबन्दीका कारण लामो समयदेखि युद्धको चपेटामा रहँदै आएको छ।

उद्धार भएर आएका भ्याचेस्लाभले आफ्नो अनुभव सुनाउँदै आफूहरू नर्कबाट फर्किएको बताए। उनकी पत्नी ओल्गाले पछिल्ला केही वर्षको जीवन अत्यन्तै भयावह रहेको प्रतिक्रिया दिइन्।

युद्धका कारण सहरमा खाद्यान्न अभाव बढ्दै गएपछि स्थानीय बासिन्दालाई दैनिक जीवन धान्नसमेत कठिन भएको थियो। बाहिर निस्कँदा गोलाबारी, ड्रोन आक्रमण र बारुदी सुरुङको जोखिम रहेकाले धेरै नागरिक घरभित्रै बस्न बाध्य थिए।

खाद्यान्न खोज्न बाहिर निस्कने क्रममा कतिपय नागरिक बारुदी सुरुङमा परेर ज्यान गुमाएका थिए भने केही घाइते तथा अपाङ्ग भएका थिए। भोकमरीको अवस्था यति गम्भीर बनेको थियो कि केही मानिसले बगैँचामा उम्रिएका झारपात पकाएर खान थालेका थिए।

चार घण्टाको समय दिएर उद्धार

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा खेरसोन क्षेत्रमा मानवीय युद्धविराम लागू भएपछि नागरिक उद्धारको बाटो खुलेको थियो। युद्धविरामका क्रममा शुक्रबार स्थानीय बासिन्दालाई सहर छाड्न चार घण्टाको समय उपलब्ध गराइएको थियो।

उद्धार अभियानका लागि २५ वटा बस परिचालन गरिएको थियो। ती बसमार्फत अधिकतम ७५० जनासम्मलाई उद्धार गर्ने व्यवस्था मिलाइएको थियो। हिँडडुल गर्न नसक्ने तथा अशक्त नागरिकका लागि एम्बुलेन्ससमेत परिचालन गरिएको थियो।

उद्धार गरिएका नागरिकलाई रुसी नियन्त्रणमा रहेको क्षेत्र हुँदै दक्षिणी रुस पुर्‍याइएको थियो। त्यसपछि हवाई मार्गबाट बेलारुस लगेर त्यहाँबाट बसमार्फत युक्रेनको चेर्निहिभस्थित सुरक्षित स्थानमा ल्याइएको हो।

उद्धार केन्द्रमा पुगेका केही वृद्धवृद्धा अत्यन्तै कमजोर अवस्थामा रहेकाले स्ट्रेचरमा बोकेर लैजानुपरेको थियो।

अझै हजारौँ नागरिक जोखिममा

अनुमानअनुसार ओलेश्की सहर र आसपासका क्षेत्रमा अझै करिब ६ हजार मानिस बसोबास गरिरहेका छन्। तीमध्ये करिब एक हजार ७०० जना सहरभित्रै रहेको बताइएको छ।

उद्धार अभियान सम्पन्न भए पनि ठूलो सङ्ख्यामा सर्वसाधारण रुसी नियन्त्रणमा रहेको क्षेत्रमा फसेका छन्। उनीहरूका लागि थप मानवीय उद्धार अभियान आवश्यक रहेको बताइएको छ।

युद्धका कारण घरबारविहीन भएका र लामो समयदेखि आधारभूत सेवा तथा खाद्यान्नबाट वञ्चित नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउनु अहिले मुख्य चुनौती बनेको छ।

चार वर्षदेखि जारी रुस–युक्रेन युद्धका बीच भएको यो मानवीय उद्धार अभियानलाई प्रभावित नागरिकका लागि ठूलो राहतका रूपमा हेरिएको छ। यद्यपि, युद्धग्रस्त क्षेत्रमा अझै रहेका सर्वसाधारणको सुरक्षा र उद्धारको विषय अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर चुनौती बनेको छ।

सम्बन्धित समाचार