काठमाडौँ । लगातारको वर्षाले भिजेको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुकाउन सुपर सोपर प्रयोग गरिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ५ बजे हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल सञ्चालन गर्ने उद्देश्यले मैदानमा जमेको पानी हटाउन थालिएको हो।
वर्षाका कारण मैदानको अवस्था बिग्रिएपछि आयोजकले सुपर सोपर उपकरण प्रयोग गरेर पानी हटाउने प्रयास गरेको छ। उक्त उपकरणले मैदानमा जमेको पानी सोसेर खेलमैदानलाई छिटो सुकाउन मद्दत गर्छ।
आयोजकले निर्धारित समयमै खेल सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले मैदानलाई खेलयोग्य बनाउने काम गरिरहेको छ। यद्यपि, खेल सञ्चालन हुने वा नहुने विषय मैदानको अवस्था र मौसममा निर्भर रहनेछ।
यसअघि लगातार वर्षाका कारण एनपीएलअन्तर्गत लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको थियो। बिहीबार रातिदेखि परेको वर्षाले कीर्तिपुरस्थित क्रिकेट मैदान पूर्ण रूपमा भिजेपछि खेल सञ्चालन हुन सकेको थिएन।
खेल रद्द भएपछि प्रतियोगिताको नियमअनुसार लुम्बिनी लायन्स र चितवन राइनोजले एक–एक अंक बाँडेका थिए।
अब सुदूरपश्चिम र विराटनगरबीचको खेल सञ्चालन गर्न मैदानलाई तयार पार्ने प्रयास भइरहेको छ।