कुलेखानी जलाशयमा पानीको सतह बढ्यो, पहिलो चेतावनी जारी; नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

953 Shares

हेटौँडा । निरन्तर वर्षाका कारण कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढ्दै गएपछि पहिलो चेतावनी जारी गरिएको छ। जलाशयमा पानीको मात्रा तीव्र रूपमा बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेको हो।

कुलेखानी जलविद्युत् आयोजनाको जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले जलाशयमा पानीको सतह बढिरहेको आयोजनाले जनाएको छ। जलसतह नियन्त्रण गर्न आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वसतर्कतास्वरूप पहिलो चेतावनी जारी गरिएको हो।

आयोजनाका अनुसार पानीको वृद्धिदर उच्च रहेकाले ड्यामका ढोका खोल्नुपर्ने अवस्था आएमा थप सूचना जारी गरिनेछ। त्यसअघि पूर्वचेतावनीको साइरनसमेत बजाइने जनाइएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै आयोजनाले ड्यामको तल्लो तटीय क्षेत्र तथा नदी किनार आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई तत्काल खोला किनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

त्यस्तै, उक्त क्षेत्र भएर आवतजावत गर्ने देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार हाल कुलेखानी ड्याममा पानीको सतह १ हजार ५२७.९३ मिटर पुगेको छ। वर्षा निरन्तर जारी रहेकाले केही घण्टामै जलसतह १ हजार ५२८ मिटर पार हुन सक्ने उनले बताएका छन्।

प्रजिअ अधिकारीले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। साथै, विपद्को जोखिमबाट बच्न आयोजनाबाट जारी हुने आधिकारिक सूचना तथा मोबाइलमा प्राप्त हुने एसएमएस सतर्कता सन्देशमा उल्लेखित निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।

सम्भावित बाढीको जोखिमबाट जोगिन नदी किनार तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वतयारी अवस्थामा रहन प्रशासनले अनुरोध गरेको छ।

सम्बन्धित समाचार