भूमिगत विद्युत् लाइन विस्तारका लागि काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

652 Shares

काठमाडौं । भूमिगत विद्युत् वितरण लाइन विस्तारको काम गर्न काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तार तथा आवश्यक प्राविधिक काम गर्न लागेको हो। प्राधिकरणका अनुसार शुक्रबार (कात्तिक १३) देखि कात्तिक २० गतेसम्म सम्बन्धित क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गतको हाईभिजन कोलोनी क्षेत्रमा विद्युत् कटौती हुनेछ।

त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म तथा कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजारसम्म विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ।

यसैगरी, कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। कात्तिक १९ गते स्युचाटार सबस्टेसन फिडरअन्तर्गत हाज्मा पुल क्षेत्रमा पनि विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

मौसम प्रतिकूल भए तालिका परिवर्तन हुन सक्ने

प्राधिकरणले मौसम प्रतिकूल भए निर्धारित कार्यतालिका रद्द हुन सक्ने जनाएको छ। विद्युत् आपूर्ति बन्द हुने समयलाई ध्यानमा राख्दै उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्नसमेत आग्रह गरिएको छ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुरक्षित, व्यवस्थित र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ। भूमिगत प्रणाली विस्तार भएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्ने तथा सडक र सहरी क्षेत्रमा अव्यवस्थित रूपमा फैलिएका विद्युत्, टेलिफोन र इन्टरनेटका तार व्यवस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

सम्बन्धित समाचार