धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक घाइते

1.5k Shares

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित मुलघाट नजिक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।

हाइड्रोपावरमा प्रयोग हुने केमिकल बोकेर सुनसरीको इटहरीबाट संखुवासभातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक दुर्घटनामा परेको हो। ट्रक गएराति करिब २ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का १८ वर्षीय राहुल चौधरी घाइते भएका छन्।

उपचारका लागि धरान पठाइयो

दुर्घटनामा घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिएका छन्।

दुर्घटनामा परेको ट्रक सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ। दुर्घटनापछि ट्रकलाई सडकमा निकाल्ने प्रयास भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार