पश्चिमी वायु र चक्रवात ‘अर्णव’को प्रभाव : आज सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

1k Shares

काठमाडौं । पश्चिमी वायु तथा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले देशभरको मौसम प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव बिहीबार साँझदेखि देखिन थालेको छ। यसको प्रभावले देशभरको आकाश सामान्यतया बदली रहेको छ।

बिहीबार केही स्थानमा हल्का वर्षा भएको थियो। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तथा मधेस प्रदेशका केही स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ।

पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

शुक्रबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तीव्र हावासमेत चल्न सक्ने अनुमान गरिएको छ।

शनिबारसम्म मौसम प्रतिकूल रहने

शुक्रबार राति पनि देशभरको आकाश अधिकांश स्थानमा बदली रहनेछ। देशका धेरैजसो क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

किसान तथा पर्यटकलाई सतर्क रहन आग्रह

मौसममा आएको परिवर्तनले धानबाली भित्र्याउने समय प्रभावित हुन सक्ने भएकाले किसानलाई कृषि कार्य गर्दा मौसम पूर्वानुमानलाई ध्यान दिन आग्रह गरिएको छ। त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटक तथा पर्वतारोहणमा जानेहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ।

वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार