आईजीपीमाथि राजीनामाको दबाबबारे फैलिएका समाचारप्रति प्रहरीको आपत्ति, तथ्य पुष्टि गर्न आग्रह

897 Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणी सार्वजनिक भएपछि नेपाल प्रहरीले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता फैलिन सक्ने बताएको हो।

प्रहरीले अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ।

विज्ञप्तिमा सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको विश्वसनीयता सुनिश्चित गर्न अनुरोध गरिएको छ।

नेपाल प्रहरीले पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्दै नागरिकप्रति राज्यको चौथो अङ्गका रूपमा रहेको जिम्मेवारी निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

त्यसैगरी, सरकारको नीतिनिर्देशनअनुसार नागरिकप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। भ्रामक प्रचार वा अनावश्यक दबाबबाट प्रभावित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्ने प्रहरीले स्पष्ट पारेको छ।

यसैबीच, प्रहरीले सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

सुरक्षा संगठनको प्रतिष्ठामा असर पार्ने वा संगठनलाई विवादमा तान्ने उद्देश्यले गरिएका गतिविधिबारे आवश्यक अनुसन्धान गरी कानुनबमोजिम प्रक्रिया अघि बढाइने पनि प्रहरीले जनाएको छ।

आईजीपी कार्कीमाथि राजीनामाको दबाब रहेको भन्ने समाचारबारे प्रहरीले तथ्य पुष्टि गर्न आग्रह गरेसँगै यस विषयमा सार्वजनिक भएका दाबी र आधिकारिक धारणाबीच स्पष्टता आवश्यक देखिएको छ।

सम्बन्धित समाचार