काठमाडौं। अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने रणनीतिक सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडिएको छ। सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का अन्त्य गर्दै निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ।
२०७९ वैशाख १६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने थियो। तर, निर्धारित समयमा काम पूरा नभएपछि म्याद थप गरी २०८३ वैशाख १६ गतेसम्म पुर्याइएको थियो। थपिएको अवधिमा पनि काम सम्पन्न हुन नसकेपछि ठेक्का तोड्ने निर्णय गरिएको हो।
कुल १० किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो। तर, ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशतमा मात्रै सीमित रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन ताकेता गर्दा पनि सडक कटान तथा संरचना निर्माणले अपेक्षित गति लिन नसकेपछि ठेक्का अन्त्य गरिएको हो।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोडेसँगै निर्माण व्यवसायीलाई बाँकी रकम दाखिला गर्न पत्राचार गरेको हो।
सडक डिभिजन कार्यालय साँफेबगरले लामो समयदेखि सडक तथा पुल निर्माणको काम अलपत्र पारिएका छवटा ठेक्का अन्त्य गरेको जनाएको छ। सन् २०१९ अर्थात् २०७६ सालदेखि काम रोकिएका वा प्रभावकारी रूपमा अघि नबढेका आयोजनाका ठेक्का तोडिएका हुन्।
ठेक्का अन्त्य गरिएका योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन्।
लामो समयसम्म निर्माण कार्य अघि नबढ्दा सडक पूर्वाधार विकास प्रभावित हुँदै आएको अवस्थामा काम नगर्ने निर्माण व्यवसायीका ठेक्का अन्त्य गर्ने निर्णय गरिएको हो।
अलपत्र आयोजनाको ठेक्का अन्त्यसँगै सम्बन्धित निर्माण व्यवसायीबाट रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको छ। अब ती सडक आयोजनाको बाँकी काम कसरी र कहिलेसम्म सम्पन्न गर्ने भन्ने विषय महत्त्वपूर्ण हुनेछ।