काठमाडौँ । नेपाल बैंक लिमिटेडले शाखा समायोजनसम्बन्धी प्राविधिक कामका लागि शुक्रबार रातिदेखि शनिबार बिहानसम्म आफ्ना सम्पूर्ण बैंकिङ सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते शुक्रबार राति ११ः३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६ः३० बजेसम्म बैंकका सेवा उपलब्ध हुने छैनन्।
बैंकका अनुसार शाखा समायोजनको कामलाई व्यवस्थित बनाउन आवश्यक तथ्याङ्क स्थानान्तरण गर्नुपर्ने भएकाले सेवा अस्थायी रूपमा बन्द गर्न लागिएको हो। निर्धारित समयमा प्राविधिक काम सम्पन्न भएपछि बैंकिङ सेवा पुनः सञ्चालन गरिनेछ।
सेवा बन्द रहने अवधिमा ग्राहकले बैंकमार्फत नियमित कारोबार गर्न नपाउने भएकाले आवश्यक बैंकिङ काम समयमै सम्पन्न गर्न बैंकले आग्रह गरेको छ।
सेवा अवरुद्ध हुँदा ग्राहकलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै सहयोगका लागि अनुरोध गरेको छ।