काठमाडौं । नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालय काठमाडौंमा बोलाइएको छ। प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी हुन प्रदेश प्रहरी प्रमुखहरूलाई काठमाडौं उपस्थित हुन निर्देशन दिइएको हो।
प्रहरीका एक उच्च अधिकारीका अनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा आज दिउँसो २ बजे पीसीसी बैठक बस्ने कार्यक्रम रहेको छ।
बैठकमा देशभरको शान्ति सुरक्षाको अवस्था, प्रहरी संगठनको आन्तरिक व्यवस्थापन तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल हुने बताइएको छ। प्रहरी संगठनको महत्वपूर्ण निर्णय प्रक्रियामा भूमिका खेल्ने भएकाले बैठकलाई नियमित प्रशासनिक तथा सुरक्षा समन्वयका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन शाहको सचिवालयबाट राजीनामा दिन दबाब दिइएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई एकैपटक काठमाडौं बोलाएका छन्। यही पृष्ठभूमिमा बैठकलाई चासोका साथ हेरिएको छ।
यद्यपि, प्रदेश प्रहरी प्रमुखहरूलाई बोलाउनु र राजीनामासम्बन्धी चर्चाबीच कुनै प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छैन। बैठकमा के–कस्ता निर्णय हुन्छन् भन्ने विषय भने त्यसपछि मात्रै स्पष्ट हुनेछ।