पहिलो त्रैमासमै १ खर्ब १४ अर्बको निर्यात, आयात ६ खर्ब ४६ अर्ब पुग्यो

939 Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशतले बढी हो।

निर्यातमा वृद्धि भए पनि आयातको आकार निकै ठूलो देखिएको छ। चाडपर्वका कारण उपभोग्य वस्तु तथा अन्य सामग्रीको माग बढ्दा असोज महिनामा मात्रै २ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

आयात ३८ प्रतिशतले बढ्यो

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल आयात ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

आयात र निर्यात दुवैमा भएको वृद्धिसँगै पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.७१ प्रतिशतले बढी हो।

व्यापार घाटा ५ खर्ब ३२ अर्बभन्दा बढी

निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको तुलनामा निर्यातको हिस्सा कम हुँदा व्यापार घाटा उच्च देखिएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

यो गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा ३४.७१ प्रतिशतले बढी हो। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५.०२ प्रतिशत र आयातको हिस्सा ८४.९८ प्रतिशत रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

इन्धन र कच्चा तेल आयातमा ठूलो रकम बाहिरियो

पहिलो तीन महिनामा नेपालले १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको इन्धन आयात गरेको छ। त्यस्तै, वनस्पति तेलको कच्चा पदार्थ आयातमा ६६ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ।

यस अवधिमा सवारीसाधन तथा त्यसका कच्चा पदार्थ आयातमा ५३ अर्ब १९ करोड, मेसिन तथा मेकानिकल पार्टपुर्जामा ४२ अर्ब ११ करोड र विद्युतीय उपकरण आयातमा ४० अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ। मल आयातमा पनि ३२ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ।

वस्तुगत रूपमा हेर्दा कच्चा सोयाबिन तेल ५२ अर्ब ६० करोड रुपैयाँ बराबर आयात भएको छ। डिजेल आयातमा ४७ अर्ब ३१ करोड, पेट्रोलमा २४ अर्ब ६२ करोड र खाना पकाउने एलपी ग्यासमा २३ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ।

निर्यातमा वनस्पति तेलको हिस्सा सबैभन्दा बढी

नेपालबाट निर्यात हुने वस्तुमध्ये वनस्पति तेलको हिस्सा सबैभन्दा ठूलो रहेको छ। पहिलो तीन महिनामा ५९ अर्ब ३२ करोड रुपैयाँ बराबरको वनस्पति तेल निर्यात भएको भन्सार विभागको तथ्यांक छ।

त्यस्तै, धागो ४ अर्ब ९७ करोड, चिया, कफी तथा मसला ४ अर्ब ६५ करोड र कार्पेटजन्य वस्तु ३ अर्ब ७२ करोड रुपैयाँ बराबर निर्यात भएका छन्। अलैँची, जुट, सूर्यमुखी फूलको तेल र पाम तेल पनि नेपालका प्रमुख निर्यात वस्तुमा परेका छन्।

भारतसँग सबैभन्दा ठूलो व्यापार

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत रहेको छ। पहिलो तीन महिनामा भारतबाट ३ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालबाट भारततर्फ ९५ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यसले भारतसँग मात्रै २ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा देखाएको छ।

चीनसँग पनि नेपालको व्यापार असन्तुलन उच्च छ। चीनबाट ठूलो परिमाणमा वस्तु आयात भए पनि नेपालबाट चीनतर्फको निर्यात तुलनात्मक रूपमा निकै कम रहेको छ।

निर्यातमा देखिएको वृद्धिले नेपाली वस्तुको बाह्य बजार विस्तार हुने सम्भावना देखाए पनि आयातको उच्च आकार र बढ्दो व्यापार घाटा चुनौतीका रूपमा कायम छन्। उत्पादन वृद्धि, स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता र निर्यातयोग्य वस्तुको विविधीकरणमा ध्यान दिन सके व्यापार असन्तुलन कम गर्न सहयोग पुग्ने देखिन्छ।

सम्बन्धित समाचार