तीन महिनामा साढे ४ अर्बको धानचामल आयात, असोजमा मात्रै १ अर्बभन्दा बढी बाहिरियो

1k Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ बराबरको धान, चामल, कनिका र बिउ आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म कुल ५६ हजार ८९३ टन खाद्यान्न आयात हुँदा ४ अर्ब ४८ करोड ८३ लाख ६१ हजार रुपैयाँ विदेशिएको हो।

पहिलो दुई महिनाको तुलनामा असोजमा धानचामल आयात बढेको देखिएको छ। साउन र भदौमा ३ अर्ब ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको ४५ हजार ५४३ टन धानचामल आयात भएको थियो। असोजमा मात्रै थप ११ हजार ३४९ टन आयात हुँदा त्यसका लागि १ अर्ब ११ करोड ५ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ।

सबैभन्दा धेरै अन्य चामल र कच्चा धान आयात

भन्सार विभागको तथ्यांकअनुसार पहिलो तीन महिनामा सबैभन्दा धेरै परिमाणमा अन्य चामल आयात भएको छ। यस अवधिमा २३ हजार ७४ टन अन्य चामल आयात गर्दा १ अर्ब ६४ करोड ५९ लाख ३२ हजार रुपैयाँ खर्च भएको छ।

त्यस्तै, १८ हजार ७१८ टन कच्चा धान आयात भएको छ। त्यसका लागि ८४ करोड ६१ लाख ४५ हजार रुपैयाँ विदेशिएको छ।

बासमती चामल आयातमा सबैभन्दा बढी रकम खर्च

परिमाणका आधारमा तेस्रो स्थानमा रहेको बासमती चामल आयातमा भने सबैभन्दा बढी रकम खर्च भएको छ। तीन महिनामा १४ हजार ४४९ टन बासमती चामल आयात गर्दा १ अर्ब ९६ करोड ८५ लाख ५९ हजार रुपैयाँ बाहिरिएको छ।

यसैगरी, ६४९ टन कनिका आयात गर्दा २ करोड ७१ लाख ९ हजार रुपैयाँ खर्च भएको छ। ब्राउन राइस ८४९ किलो आयात भएको छ, जसको मूल्य १ लाख १५ हजार रुपैयाँ रहेको छ।

धानको बिउ भने निकै कम मात्रामा आयात भएको छ। चीन र भारतबाट गरी ६७ किलो धानको बिउ आयात गर्दा ५ लाख १ हजार रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

भारतबाट मुख्य आयात, अन्य देशबाट पनि चामल भित्रिन्छ

नेपालमा धानचामलको मुख्य स्रोत भारत हो। यद्यपि, इटाली, पोल्यान्ड, भियतनाम, थाइल्यान्ड र चीनबाट समेत थोरै परिमाणमा यस्ता खाद्यवस्तु आयात हुने गरेका छन्।

धानचामल आयातमा ठूलो रकम बाहिरिनुले स्वदेशी उत्पादन र खाद्यान्न आपूर्तिको अवस्थाबारे प्रश्न उठाएको छ। कृषि उत्पादन वृद्धि, किसानलाई प्रोत्साहन, सिँचाइ सुविधा विस्तार र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सके आयातमा निर्भरता घटाउन सहयोग पुग्ने देखिन्छ।

 

सम्बन्धित समाचार