तिहारअघि नै फक्रिए सयपत्री, फूल जोगाउन किसानले कोल्डस्टोरको सहारा लिए

708 Shares

झापा । तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने र सुरक्षित राख्ने चटारो बढेको छ। तिहार आउनुअघि नै फूल फक्रिएपछि किसानले तिनलाई ताजा राखेर पर्वका बेला बिक्री गर्न कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन्। 

यस वर्ष तिहार केही ढिलो पर्ने भएकाले खेतमा फक्रिएका फूललाई लामो समयसम्म सुरक्षित राख्नुपर्ने चुनौती किसानसामु देखिएको छ। फूल धेरै समय खेतमै राख्दा गुणस्तर बिग्रिने जोखिम हुने भएकाले किसानले समयमै टिपेर माला उन्ने र चिस्यानयुक्त भण्डारणमा राख्ने गरेका छन्।

बुद्धशान्ति–३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजालका अनुसार फूललाई तीन–तीन दिनमा टिपेर बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा पुर्‍याउन थालिएको छ। झापामा फूल भण्डारणका लागि छुट्टै कोल्डस्टोरको सुविधा नहुँदा उपलब्ध संरचनामै निर्भर हुनुपरेको उनको भनाइ छ। 

त्यस्तै, अर्जुनधारा–१० स्थित मिश्र कृषि फार्मका आयुष मिश्रले पनि वर्षाका कारण फूल बिग्रिने जोखिम रहेकाले टिपेर भण्डारण गर्नुपरेको बताएका छन्। पानी परेपछि फूल कालो हुने र गुणस्तरमा असर पर्ने भएकाले फूल टिप्ने, माला उन्ने र कोल्डस्टोरमा राख्ने काम भइरहेको छ।

यस वर्ष झापामा कनकाई नदीपूर्व मात्रै १६ बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ। बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा किसान तथा विभिन्न समूहले तिहारलाई लक्षित गरेर व्यावसायिक फूलखेती गरेका छन्।

सम्बन्धित समाचार