चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले जग्गा कित्ताकाटमा देखिएका अवरोध हटाउँदै घरजग्गा कारोबार सहज बनाउन सरकारसँग माग गरेका छन्। व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट गरी भू–उपयोग नीति स्पष्ट बनाउनसमेत आग्रह गरेका हुन्।
सौराहामा भएको भेटघाटमा नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा गएको टोलीले जग्गा कारोबारमा देखिएका नीतिगत समस्या समाधान गर्न मन्त्री रावलको ध्यानाकर्षण गराएको थियो।
भेटमा संघका वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला, आईपी थापालगायत व्यवसायी सहभागी थिए।
टोलीले जग्गा कारोबारबाट सरकारले उल्लेख्य राजस्व प्राप्त गर्ने भएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन आवश्यक रहेको बताएको थियो। अध्यक्ष अधिकारीले जग्गा कित्ताकाटमा देखिएका अवरोध हटाउन, भू–उपयोग नीतिमा स्पष्टता ल्याउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थालाई व्यवसायी र सर्वसाधारणका लागि सहज हुने गरी पुनरावलोकन गर्न आग्रह गरे।
व्यवसायीका अनुसार जग्गा कारोबारमा देखिएका समस्याले व्यवसायीलाई मात्र नभई सर्वसाधारणको जग्गा किनबेच र आवास निर्माणसमेत प्रभावित पारेको छ। नीतिगत अन्योल हटाएर प्रक्रिया सहज बनाउन सके घरजग्गा क्षेत्रको गतिविधि बढ्नुका साथै सरकारी राजस्वमा पनि सकारात्मक योगदान पुग्ने उनीहरूको भनाइ छ।
व्यवसायीका माग सुनेपछि मन्त्री रावलले भू–उपयोग नीतिलाई स्पष्ट बनाउँदै जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताइन्। उनले जग्गा कित्ताकाट खुलाउने विषयमा छिट्टै आवश्यक सहजीकरण गर्ने आश्वासन दिएको व्यवसायीले जनाएका छन्।
जग्गा कित्ताकाटसम्बन्धी नीतिगत अन्योल अन्त्य भए घरजग्गा कारोबार व्यवस्थित हुनुका साथै आवास निर्माणका गतिविधि पनि सहज हुने अपेक्षा व्यवसायीले गरेका छन्।