दाङ, कात्तिक ६ । दसैँको रमझम सकिएसँगै दाङका किसान पाकेको धान भित्र्याउन खेतबारीमा व्यस्त भएका छन्। वर्षभरि परिवारको खाद्यान्न र घरखर्चको मुख्य आधार धान भएकाले किसानलाई समयमै बाली स्याहारेर घरमा भित्र्याउने चटारो परेको हो।
दसैँ मनाउन व्यस्त रहेका किसान अहिले धान काट्ने, खल्यानसम्म ओसार्ने, थ्रेसर लगाउने र भण्डारण गर्ने काममा जुटेका छन्। आगामी मंगलबारदेखि वर्षा हुन सक्ने चर्चा चलेपछि खेतमा काट्न बाँकी धान समयमै भित्र्याउन किसान थप हतारिएका छन्।
दंगीशरण गाउँपालिका–३ हेकुलीका किसान भरत चौधरी दसैँ सकिएलगत्तै धान स्याहार्न व्यस्त हुनुहुन्छ। पाकेको धान खेतमै रहँदा वर्षा भए क्षति हुन सक्ने भएकाले परिवारका सदस्यसँग मिलेर बाली भित्र्याउने काम गरिरहेको उहाँले बताउनुभयो।
“दसैँ सकियो, अब धान काट्ने, खल्यानमा ओसार्ने र थ्रेसर लगाएर घरमा भित्र्याउने काममा जुटेका छौँ,” उहाँले भन्नुभयो, “वर्षभरि खानका लागि धान राख्छौँ, बाँकी धान बेचेर घरखर्च चलाउँदै आएका छौँ।”
हेकुलीकै अर्का किसान रामबहादुर चौधरीलाई पनि धान भित्र्याउने चटारो छ। दसैँअघि हरियो देखिएको धान चाडपर्व मनाउँदामनाउँदै पाकेर काट्ने अवस्थामा पुगेपछि तत्काल खेतमा खटिनुपरेको उहाँले बताउनुभयो।
“दसैँअघि धान हरियो थियो। दसैँ मनाउँदामनाउँदै काट्ने बेला भइसकेछ। त्यसैले चाडपर्व सकिएलगत्तै धान भित्र्याउने काममा जुटेका छौँ,” उहाँले भन्नुभयो।
तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका किसान पनि धान भित्र्याउन व्यस्त छन्। गाउँका धेरै किसानले धान घरमा भित्र्याइसकेका छन् भने दसैँका कारण केही किसानको बाली स्याहार्ने काम पछाडि परेको छ।
स्थानीय किसान जितराम चौधरीका अनुसार यस वर्ष दसैँ र धान भित्र्याउने समय एकैपटक परेकाले दुवै कामलाई सँगसँगै अघि बढाउनुपरेको छ। उहाँले आधा धान भित्र्याइसकेको र बाँकी एक–दुई दिनभित्र सक्ने तयारी गरेको बताउनुभयो।
“दसैँ पनि मनाउनुपर्यो, वर्षमा एक पटक आउने चाडपर्व छाड्न पनि भएन। फेरि, यसपालि दसैँ र धान भित्र्याउने समय एकैपटक परेकाले दुवै काम सँगसँगै गर्नुपर्यो,” उहाँले भन्नुभयो।
दाङका धेरै किसानका लागि धान प्रमुख खाद्यान्न बाली हो। किसानले परिवारलाई वर्षभरि खान पुग्ने धान राखेर बाँकी बिक्री गर्दै घरखर्च व्यवस्थापन गर्ने गरेका छन्। त्यसैले धान भित्र्याउने समय उनीहरूका लागि निकै महत्त्वपूर्ण मानिन्छ।
दसैँ सकिएसँगै खेतमा पाकेको धान सुरक्षित रूपमा घरमा भित्र्याउन किसानले श्रम र समय खर्चिरहेका छन्। वर्षा सुरु हुनुअघि बाली स्याहार्न सके उत्पादनमा हुने सम्भावित क्षतिबाट जोगिन सकिने भएकाले अहिले जिल्लाका विभिन्न स्थानमा किसानको ध्यान धान काट्ने र भण्डारण गर्ने काममा केन्द्रित भएको छ।