हेटौँडा, कात्तिक १६ । तिहार नजिकिएसँगै मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन्। सरकारले आयातित फूल तथा प्लास्टिकका फूलको बिक्री वितरणमा रोक लगाएपछि स्वदेशी उत्पादनले राम्रो बजार पाउने अपेक्षा किसानले गरेका छन्।
मकवानपुरका विभिन्न क्षेत्रमा करिब २० बिघा जमिनमा व्यावसायिक फूल खेती हुँदै आएको छ। मनहरी, बकैया, बागमती, भीमफेदी, थाहा नगरपालिका र हेटौँडालगायत क्षेत्रमा सयपत्री खेती विस्तार भइरहेको छ।
नेपाल सयपत्री फूल उत्पादक केन्द्रीय सङ्घका अध्यक्ष बालकृष्ण चौलागाईंका अनुसार नेपाल फूल उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढेको छ। तिहारका बेला मकवानपुरमा मात्रै ६ हजारदेखि १० हजार माला आवश्यक पर्ने गरेको छ।
अहिले बजारमा सयपत्री फूल प्रतिकिलो ४०० देखि ४५० रुपैयाँसम्म बिक्री भइरहेको व्यवसायीले बताएका छन्। एक किलो फूलबाट पाँच वटासम्म माला बनाउन सकिने र एउटा माला ९० देखि १०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
हेटौँडा–१७ का प्रदीप थापा र बकैया–४ का नारायण घिमिरेजस्ता किसान पनि व्यावसायिक फूल खेतीमा सक्रिय भएका छन्।
स्वदेशी फूलले उचित मूल्य र बजार पाएमा यस खेतीप्रति किसानको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।