काठमाडौँ । रसुवा तथा आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले कृषि क्षेत्रमा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको प्रारम्भिक आकलन गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार बाढीबाट धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति भएको हो।
प्रतिवेदनअनुसार बाढीबाट प्रभावित क्षेत्रमा १ हजार ६६९ हेक्टर धान खेती प्रभावित भएको छ। यसबाट करिब ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने क्षेत्र प्रभावित हुँदा २ हजार ४५० टन धानमा क्षति पुगेको छ।
त्यस्तै, तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्र प्रभावित भएको छ। यसबाट करिब १ हजार ८४३ टन तरकारी उत्पादनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। नुवाकोटको विदुरमा मात्रै ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा करिब १ हजार ३२३ टन उत्पादनमा क्षति पुगेको छ।
बाढीको प्रभाव पशुपन्छी क्षेत्रमा पनि गम्भीर देखिएको छ। प्रतिवेदनअनुसार २ लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन्। पशुपन्छी क्षेत्रमा मात्रै अनुमानित १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ।
संख्याका आधारमा कुखुरा सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीबाट करिब २ लाख १४ हजार ८२७ कुखुरा प्रभावित भए पनि मूल्यका हिसाबले भैंसी, बाख्रा तथा च्याङ्ग्रा र गाईगोरुको क्षति बढी देखिएको छ। भैंसीतर्फ मात्रै ४५ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
त्यस्तै, बाख्रा तथा च्याङ्ग्रातर्फ ३९ करोड १३ लाख र गाईगोरुतर्फ १७ करोड ९२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। भैंसी, बाख्रा/च्याङ्ग्रा र गाईगोरुको क्षतिले मात्रै कुल पशुधन क्षतिको ९२.३ प्रतिशत हिस्सा ओगटेको छ।
बाढीबाट नुवाकोटको विदुर, लिखु र बेलकोटगढी, धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक तथा गल्छी र गोरखाका गण्डकी तथा शहीद लखनलगायत स्थानीय तहमा कृषि क्षेत्रमा ठूलो प्रभाव परेको छ।
कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिले प्रभावित किसानको आम्दानीमा प्रत्यक्ष असर पार्नुका साथै बाढी प्रभावित ग्रामीण अर्थतन्त्रलाई समेत दीर्घकालीन असर पार्न सक्ने देखिएको छ।