द्वन्द्वको साक्षी वसन्तपुर डाँडा अहिले पर्यटकीय गन्तव्य, तीन वर्षमा पाँच लाखभन्दा बढी पर्यटक

813 Shares

बुटवल । कुनै समय सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीचको भीडन्तका कारण चर्चामा रहेको पाल्पाको वसन्तपुर डाँडा अहिले आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि यहाँ पर्यटकको आगमन बढ्नुका साथै होटल तथा अन्य पर्यटकीय पूर्वाधारमा लगानीसमेत विस्तार हुन थालेको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ मा अवस्थित वसन्तपुर डाँडा पछिल्ला वर्षमा आन्तरिक तथा भारतीय पर्यटकको रोजाइमा पर्न थालेको छ। बुटवलबाट पैदल यात्रा गर्दा करिब दुई घण्टा लाग्ने यस क्षेत्रमा अहिले केबुलकारमार्फत करिब आधा घण्टामै पुग्न सकिन्छ।

लुम्बिनी केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकालका अनुसार बुटवलमा गर्मी बढेका बेला वसन्तपुरको चिसो वातावरणको आनन्द लिन भारतीय पर्यटक ठूलो सङ्ख्यामा आउने गरेका छन्। उनका अनुसार सुविधासम्पन्न होटल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटकीय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।

पाँचतारे होटलसहित थप पूर्वाधार निर्माणको योजना

वसन्तपुरलाई व्यवस्थित र सुविधासम्पन्न पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पाँचतारे होटल सञ्चालनको तयारी भइरहेको ढकालले बताएका छन्। होटल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत गरिएको उनले जानकारी दिए।

व्यवसायीका अनुसार वसन्तपुरमा होटल, क्यासिनो, जीप पार्कलगायत विभिन्न सुविधा समेटिएको एकीकृत पर्यटकीय क्षेत्र विकास गर्ने अवधारणा अघि सारिएको छ। यस्ता परियोजनामार्फत देशका सातै प्रदेशमा एकीकृत पर्यटकीय गन्तव्य निर्माण गर्ने सोचसमेत रहेको जनाइएको छ।

स्थानीयवासी लक्ष्मण गौतम, तेजप्रसाद सुनारलगायत पाँच जनाले परिकल्पना गरेको केबुलकार परियोजनाको निर्माण नेतृत्व लिन पाँच वर्षअघि चन्द्रप्रसाद ढकालको समूहअन्तर्गतको आइएमई ग्रुप तयार भएको थियो। त्यसपछि निर्माण सुरु गरिएको परियोजना दुई वर्षमै सम्पन्न भएको जनाइएको छ।

लुम्बिनी केबुलकारले विसं २०८० जेठ १५ गतेदेखि व्यावसायिक सञ्चालन सुरु गरेको हो। यसको माथिल्लो स्टेसन वसन्तपुर डाँडामा रहेको छ।

तीन वर्षमा पाँच लाखभन्दा बढी पर्यटक

लुम्बिनी केबुलकारका अनुसार सञ्चालनको तीन वर्षमा पाँच लाखभन्दा बढी पर्यटकले सेवा लिएका छन्। तीमध्ये करिब ३० प्रतिशत भारतीय पर्यटक रहेको कम्पनीले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भारतीय पर्यटकको आगमन २५ प्रतिशतले वृद्धि भएको जनाइएको छ। भारतका आन्ध्र प्रदेश, झारखण्ड, बिहार, केरलालगायत विभिन्न राज्य तथा सहरबाट पर्यटक वसन्तपुर पुग्ने गरेका छन्।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी यहाँबाट करिब ५० किलोमिटरको दूरीमा छ। लुम्बिनी भ्रमणमा आउने भारतीय पर्यटकसमेत वसन्तपुर पुगेर केबुलकारको यात्रा र त्यहाँका धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने गरेका छन्।

धार्मिक आस्था र मनोरञ्जनको संगम

वसन्तपुर डाँडामा धार्मिक पर्यटनको सम्भावना पनि बढ्दै गएको छ। केबुलकारको माथिल्लो स्टेसनमा रहेको प्रसिद्ध कामाख्या देवीको मन्दिर र करिब सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिर पुनर्निर्माण गरिएका छन्।

कामाख्या देवीको दर्शन गर्दा मनोकामना पूरा हुने तथा सांसारिक बन्धनबाट मुक्ति प्राप्त हुने धार्मिक विश्वासका कारण नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजन यहाँ आउने गरेका छन्।

धार्मिक स्थलसँगै पर्यटकका लागि जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेस्टुराँ तथा ज्वाइन्ट स्विङलगायतका मनोरञ्जनात्मक पूर्वाधार निर्माण गरिएका छन्। वसन्तपुरबाट बुटवल, तिलोत्तमा र भैरहवासम्मको दृश्यावलोकन गर्न सकिन्छ भने मौसम सफा भएका बेला हिमशृङ्खलासमेत देख्न सकिन्छ।

लुम्बिनी केबुलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेका अनुसार केबुलकारमा यात्रा गर्दा जङ्गल क्षेत्रमा घोरल र चित्तललगायत वन्यजन्तु देख्न पाइने भएकाले पर्यटक थप आकर्षित हुने गरेका छन्।

द्वन्द्वको इतिहास पनि पर्यटनको आधार

वसन्तपुर डाँडाको अर्को विशेषता यसको सशस्त्र द्वन्द्वसँग जोडिएको इतिहास हो। तत्कालीन माओवादी र नेपाली सेनाबीचको भीडन्तका घटनाले परिचित यस क्षेत्रको स्वरूप अहिले उल्लेख्य रूपमा परिवर्तन भएको छ।

द्वन्द्वकालमा वसन्तपुर पुगेका भैरहवाका पत्रकार दीपेन्द्र बडुवालले त्यहाँको परिवर्तनले पर्यटकीय सम्भावना बढाएको बताएका छन्। उनले द्वन्द्वका क्रममा सेनाले गोली चलाउँदा ढुङ्गाको आडमा लुक्नुपरेको र डाँडामा बसेर खाजा खाएको घटना अझै सम्झनामा रहेको बताए।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य दीपेन्द्र कुँवरले पनि पहिले स्थलमार्गबाट पुग्ने गरेको वसन्तपुरमा अहिले केबुलकारमार्फत यात्रा गर्न पाउँदा फरक अनुभव हुने गरेको बताए। उनका अनुसार त्यहाँ पुग्दा द्वन्द्वकालमा देखेका र भोगेका घटनाहरू स्मरण हुन्छन्।

पत्रकार बडुवालले सशस्त्र द्वन्द्वसँग जोडिएका ऐतिहासिक सम्झनालाई संरक्षण गर्न सके त्यसले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरेका छन्।

यसरी धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, मनोरञ्जनात्मक पूर्वाधार र ऐतिहासिक महत्त्वको संयोजनले वसन्तपुर डाँडा नयाँ पर्यटकीय पहिचान बनाउँदै गएको छ। थप होटल तथा पूर्वाधार निर्माणका योजना कार्यान्वयन भए यस क्षेत्रले आन्तरिक र भारतीय पर्यटकलाई अझ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार