काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धर्मपत्नी निकिता पौडेलसहित तीनदिने धार्मिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनीहरू धनगढीको स्थलमार्ग हुँदै पारिवारिक तीर्थाटनका लागि भारत गएका हुन्।
रास्वपा सभापति लामिछानेको निजी सचिवालयका अनुसार भ्रमण पूर्णतः निजी धार्मिक प्रयोजनका लागि तय गरिएको हो। तीनदिने भ्रमणका क्रममा लामिछाने दम्पतीले भारतका प्रसिद्ध धार्मिक स्थलहरूको दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
भ्रमणको तालिकाअनुसार उनीहरूले उत्तराखण्डस्थित नैनीतालको प्रसिद्ध कैंची धाम र आसामको गुवाहाटीमा रहेको ऐतिहासिक कामाख्या मन्दिरमा पुगेर दर्शन गर्नेछन्। सचिवालयका अनुसार दम्पतीले परिवारसहित तीर्थस्थलमा पूजाअर्चना गर्ने कार्यक्रम छ।
राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका लामिछानेको यस धार्मिक भ्रमणलाई राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ। यद्यपि, सचिवालयले भ्रमणलाई निजी धार्मिक यात्राका रूपमा स्पष्ट पारेको छ।
तीनदिने तीर्थाटन तथा धार्मिक कार्यक्रम सम्पन्न गरेपछि लामिछाने दम्पती स्वदेश फर्किने तालिका रहेको सचिवालयले जनाएको छ।