दसैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या साढे पाँच लाख नाघ्यो

1k Shares

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ। घटस्थापनादेखि नवमी (कात्तिक ३) सम्म पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रुहरू उपत्यकाबाहिरिएका हुन्।

अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि प्रमुख नाकाहरूमा यात्रुको चाप बढेको छ। लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको भीड बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन्।

दसैँ मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ। विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ गइरहेका छन्।

चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चौबीसै घण्टा सडकमा निगरानी बढाएको एसएसपी काफ्लेले बताए।

उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी परिचालन गरिएको छ।

“यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ। हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो,” उनले भने।

दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेका बेला ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थित गर्न र यात्रालाई सुरक्षित बनाउन निगरानीलाई निरन्तरता दिएको जनाएको छ।

सम्बन्धित समाचार