सङ्खुवासभा । पहिरोका कारण तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। नेपाली सेनाको सहयोगमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा खसेको विशाल चट्टानसहितको पहिरो हटाइएपछि सडकमा यातायात सञ्चालन भएको हो।
नेपाल–चीन जोड्ने महत्त्वपूर्ण सडकका रूपमा रहेको यस खण्डमा गत साउनमा ठूला चट्टानसहितको पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द भएको थियो। किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानको अवरोध हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो।
आयोजनाको अनुरोधपछि नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली खटिएको थियो। श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रमा पर्ने उक्त स्थानमा सेनाले विस्फोटन (ब्लास्टिङ) प्रविधिमार्फत ठूला चट्टानलाई साना टुक्रामा विभाजन गरेको थियो। त्यसपछि आयोजनाले चट्टान हटाएर सडक सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए।
उनका अनुसार भौगोलिक अवस्था जटिल हुनुका साथै चट्टान अत्यन्त ठूला भएकाले सामान्य उपकरणबाट पहिरो हटाउन सम्भव भएको थिएन। त्यसैले विस्फोटक पदार्थ प्रयोग गरेर अवरोध हटाउनुपरेको थियो।
“भोटखोला–२ स्थित छुम्सुरमा ठूला चट्टानसहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो। चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो,” आयोजना प्रमुख गुरुङले भने।
सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक आवागमन, सामान ढुवानी तथा जनजीवन प्रभावित भएको थियो। लामो समयपछि सडक पुनः सञ्चालनमा आएपछि उत्तरी सीमावर्ती क्षेत्रसम्मको यातायात र व्यापारिक सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।
नेपाल–चीन व्यापारिक सम्पर्कका लागि महत्त्वपूर्ण मानिने किमाथाङ्का नाका जोड्ने यो सडकको रणनीतिक महत्त्वसमेत रहेको छ। प्राकृतिक विपद् र सडक अवरोधका कारण रसुवागढी, तातोपानी र कोरला नाकासमेत प्रभावित भइरहेका बेला खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा आउनुलाई महत्त्वपूर्ण मानिएको छ।
खाँदबारी–किमाथाङ्का सडकखण्डको कुल १६२ किलोमिटरमध्ये १०.८ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो। अत्यन्त विकट भूगोल र कडा चट्टानका कारण निर्माण सामग्री हेलिकप्टरमार्फत ढुवानी गरेर सेनाले उक्त सडक निर्माण सम्पन्न गरी गत वैशाखमा हस्तान्तरण गरेको थियो।
चीनसँगको उत्तरी सीमा जोड्ने किमाथाङ्का नाका सञ्चालनमा आएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरलगायत जिल्लाका बासिन्दालाई लाभ पुग्ने अपेक्षा गरिएको छ। किमाथाङ्का–जोगबनी सडकलाई चीन र भारत जोड्ने छोटो मार्गका रूपमा समेत लिइन्छ।
वर्षायाममा पहिरो र ठूला चट्टान खस्ने जोखिमका कारण यस सडकमा नियमित यातायात सञ्चालन चुनौतीपूर्ण रहँदै आएको छ। सडक पुनः सञ्चालनमा आएसँगै दुर्गम उत्तरी क्षेत्रका बासिन्दाको आवागमन तथा सामान ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।