महानवमीमा मात्रै खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल

659 Shares

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर महानवमीका अवसरमा आज (मङ्गलबार) बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। वर्षमा एक दिन मात्रै खुल्ने यस मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म दर्शन तथा पूजाआराधना गर्न पाउनेछन्।

हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ। यस अवसरमा देवीको दर्शन गर्न हजारौँ भक्तजन मन्दिर पुग्ने गर्छन्।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी मन्दिर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले मन्दिरको विशेष धार्मिक महत्त्व रहेको बताइन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार गत शनिबार तुलजा भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। त्यसपछि निर्धारित साइतमा स्थिरासन गराई पूजाआराधना सुरु गरिएको थियो।

महाअष्टमीका अवसरमा सोमबार राति मूलचोकमा कालरात्रि पूजा गरिएको थियो। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार उक्त पूजामा ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा छ।taleju-bhawani-1-768x512.jpg

विजयादशमीसम्म तुलजा भवानीलाई मूलचोकमै राखेर पूजाआराधना गरिनेछ। बुधबार विजयादशमीका दिन निर्धारित साइतअनुसार बिहान १०ः५१ बजे देवीको यात्रा गराइने र ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ।

वर्षमा एक दिन मात्रै सर्वसाधारणका लागि खुल्ने भएकाले महानवमीका दिन तलेजु भवानी मन्दिरमा दर्शन गर्न भक्तजनको विशेष आकर्षण रहने गरेको छ।

सम्बन्धित समाचार