दसैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा

862 Shares

काठमाडौं । बडादसैँका बेला सार्वजनिक यातायातमा हुन सक्ने चाप र सवारीसाधनको अभावलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।

सर्वसाधारण यात्रुको आवतजावत सहज बनाउने उद्देश्यले दुई वटा बस सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।

प्रवक्ता कार्कीका अनुसार निःशुल्क बस सेवा आजदेखि लगातार तीन दिनसम्म सञ्चालन हुनेछ। बसहरू बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन्।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन हुने दुईमध्ये एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा दिनेछ।

त्यसैगरी, अर्को बसले प्रधान कार्यालयबाट सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानमा आवतजावत गर्ने यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

चाडपर्वका समयमा सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा सर्वसाधारणले भोग्नुपर्ने सास्ती कम गर्न सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो। यसबाट दसैँका बेला उपत्यकाभित्र यात्रा गर्ने नागरिकलाई आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार