अक्टोबर १८ देखि २० सम्म तातोपानी नाका सञ्चालन, मालवाहक ट्रकलाई मात्रै अनुमति

911 Shares

काठमाडौं — दसैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रह स्वीकार गर्दै नाका खोल्ने निर्णय गरेको उद्योग मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अक्टोबर १८ देखि २० सम्म तातोपानी नाका सञ्चालन हुनेछ। उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरले भन्सार कार्यालय सञ्चालनमा रहेको र मालवाहक सवारीसाधनको आवागमनका लागि आवश्यक तयारी गरिएको जानकारी दिए।

‘भन्सार खुला छ, हामी तयार छौँ। अहिलेसम्म मालवाहक सवारीहरू आइपुगेका छैनन्,’ उनले भने।

दसैंको समयमा बजारमा वस्तु तथा सामग्रीको माग बढ्ने भएकाले आपूर्ति व्यवस्थालाई सहज बनाउन नाका अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो। तीन दिनको अवधिमा मालवाहक ट्रकमार्फत सामग्री आयात गर्न सकिने भए पनि नाकाबाट यात्रुवाहक सवारीसाधनको आवागमन भने खुला गरिएको छैन।

सम्बन्धित समाचार