दसैँमा स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन निर्देशन, औषधि र जनशक्तिको व्यवस्था गर्न भनियो

1.5k Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै सङ्घीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।

मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न तथा औषधि, स्वास्थ्य उपकरण, रगत र अन्य आवश्यक सामग्री पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ।

सेवा प्रवाहका क्रममा देखिने समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले सम्पर्क व्यक्ति तोकी नाम, पद, सम्पर्क नम्बर र ड्युटी तालिकासहितको विवरण मन्त्रालयले तोकेको इमेलमा पठाउनुपर्नेछ।

दसैँ बिदाभर नागरिकले सहज रूपमा आवश्यक स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार