आईसीसीले दियो एनपीएललाई मान्यता, अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म प्रतियोगिता

673 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै प्रतियोगिताले आईसीसीको मान्यता प्राप्त गरेको जानकारी दिएको हो।

क्यानका अनुसार एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। आईसीसीको मान्यता प्राप्त भएसँगै प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोलीहरूलाई विदेशी खेलाडी अनुबन्ध गर्ने बाटो खुलेको छ।

क्यानले आईसीसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, यस महत्त्वपूर्ण मान्यताका लागि आईसीसीप्रति धन्यवाद तथा आभार प्रकट गरेको छ।

नेपाली क्रिकेटको सामूहिक प्रयासको उपलब्धि : पारस खड्का

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपीएलले आईसीसीको मान्यता प्राप्त गर्नुलाई नेपाली क्रिकेटको सामूहिक प्रयाससँग जोड्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिचान थप स्थापित गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्।

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा उचित स्थानमा पुनःस्थापित गर्न देशभरका क्रिकेटकर्मीले वर्षौंदेखि अथक प्रयास गर्दै आएको उनले बताएका छन्।

‘नेपाली क्रिकेटलाई उसको उचित स्थानमा पुनःस्थापित गर्न देशभरका नेपाली क्रिकेटसँग आबद्ध सबैले वर्षौँदेखि अथक प्रयास, विश्वास र समर्पणका साथ काम गर्दै आएका छन्। आफ्नो क्षमताभन्दा बढी उपलब्धि हासिल गर्दै आएको क्रिकेट राष्ट्रका रूपमा नेपाललाई पुनः स्थापित गर्ने यो सामूहिक प्रयास हो,’ खड्काले भनेका छन्।

उनले नेपाली क्रिकेटप्रति निरन्तर साथ र विश्वास देखाएकोमा आईसीसीलाई धन्यवाद दिएका छन्। साथै, अन्तर्राष्ट्रिय क्रिकेट समुदायलाई ‘हिमालयको उत्सव’ मा स्वागत गर्न नेपाल तयार रहेको बताएका छन्।

एनपीएलको तेस्रो संस्करणले विदेशी खेलाडीको सहभागिता, प्रतिस्पर्धाको स्तर र नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आईसीसीको मान्यतासँगै प्रतियोगितालाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने अवसरसमेत प्राप्त भएको छ।

सम्बन्धित समाचार