काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) आगामी फागुन १ गतेदेखि सञ्चालन हुने भएको छ। लिगको पहिलो संस्करण चार महिनासम्म सञ्चालन गरिनेछ भने सहभागी टोलीले होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
क्लबहरूको साझा संस्थाका रूपमा रहेको नेपाल फुटबल लिगले प्रतियोगिता आयोजना गर्न लागेको हो। लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसीसहित अन्य नयाँ टोलीले समेत प्रतिस्पर्धा गर्नेछन्।
लिगलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा सञ्चालन गर्न स्वतन्त्र समिति (इन्डिपेन्डेन्ट कमिटी) गठन गरिने नेपाल फुटबल लिगका अध्यक्ष कल्याण गुरुङले जानकारी दिएका छन्।
आयोजकका अनुसार लिग सञ्चालनको मुख्य उद्देश्य नेपाली फुटबललाई व्यावसायिक बनाउनुका साथै देशभर फुटबलको वातावरण सिर्जना गर्नु हो। होम एन्ड अवेको प्रारूपमा प्रतियोगिता सञ्चालन हुँदा टोलीहरूले आफ्नै घरेलु मैदानमा खेल्ने तथा विपक्षी टोलीको मैदानमा गएर पनि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
चार महिनासम्म सञ्चालन हुने लिगले नेपाली फुटबलमा क्लबहरूको सहभागिता विस्तार, प्रतिस्पर्धात्मक वातावरण निर्माण र व्यावसायिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
लिगको पहिलो संस्करणमार्फत नेपाली फुटबललाई थप व्यवस्थित बनाउने र समर्थकलाई नियमित रूपमा घरेलु फुटबल हेर्ने अवसर उपलब्ध गराउने लक्ष्य आयोजकले राखेको छ।