अभिभावक गुमाएका बाढी प्रभावित बालबालिकाको गुम्बामा, पढाइ निरन्तरताका लागि पहल

799 Shares

काठमाडौँ । भोटेकोशी–त्रिशूलीमा आएको बाढीले बालबालिकाको जीवनमा गहिरो चोट पुर्‍याएको छ। कसैले आमाबुवा दुवै गुमाएका छन्, कसैले आमा वा बुवाको साथ गुमाएका छन्।

अभिभावकसँगै कतिपयले आफ्नो पुरानो घर, साथीभाइ र नियमित विद्यालय जाने दैनिकीसमेत गुमाएका छन्। बाढीबाट प्रभावित यस्ता बालबालिका अहिले काठमाडौँका विभिन्न गुम्बामा आश्रय लिएर बसिरहेका छन्।

बाढी प्रभावित बालबालिकाको संरक्षण तथा हेरचाहका लागि काठमाडौँका तीन वटा गुम्बामा २८६ जनालाई राखिएको छ। उनीहरूमध्ये ११ जनाले आमाबुवा दुवै गुमाएका छन्। १९ जनाले आमा र १०६ जनाले बुवा गुमाएका छन्। आमाबुवा जीवितै भए पनि विभिन्न कारणले १५० जना बालबालिका गुम्बामा आश्रय लिएर बसिरहेका छन्।

राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार बाढीपछि सरोकारवाला निकायसँग समन्वय गरेर काठमाडौँका तीन वटा गुम्बामा बालबालिकाको संरक्षण र व्यवस्थापन गरिएको हो। आश्रय लिने बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको जनाइएको छ।

गुम्बामा बालबालिकाको रेखदेख

काठमाडौँको स्वयम्भूस्थित पहेँलो गुम्बाका सञ्चालक ग्युर्मी तामाङले भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न बालबालिकालाई गुम्बामा आश्रय दिइरहेको बताएका छन्।

“रसुवा बाढी प्रभावित धेरैजसो बालबालिका हाम्रो गुम्बामा रहेका छन्। उनीहरूको सम्पूर्ण रेखदेख हामीले गरिरहेका छौँ,” तामाङले भने।

बाढीका कारण अभिभावक गुमाएका तथा पारिवारिक संरक्षणबाट टाढिएका बालबालिकालाई सुरक्षित वातावरणमा राख्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ। उनीहरूको दैनिक हेरचाहसँगै शिक्षा, स्वास्थ्य र मनोसामाजिक सहयोगलाई निरन्तरता दिनुपर्ने चुनौतीसमेत छ।

जन्मदर्ता र नागरिकताको प्रतिलिपि निःशुल्क

बाढीका कारण जन्मदर्ता तथा नागरिकतासम्बन्धी कागजात गुमाएका बालबालिकालाई आवश्यक कागजात पुनः उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ।

सूचना अधिकारी चन्दका अनुसार सम्बन्धित स्थानीय बालअधिकार समिति तथा बालकल्याण अधिकारीको सिफारिसमा स्थानीय तहबाट छोटो प्रक्रियामार्फत निःशुल्क प्रतिलिपि उपलब्ध गराइनेछ। बालबालिकाको पढाइलेखाइलाई निरन्तरता दिन आवश्यक शैक्षिक सामग्रीसमेत उपलब्ध गराउने तयारी गरिएको छ।

बाढीका कारण विद्यालय जान नपाएका बालबालिकालाई पुनः शिक्षाको पहुँचमा ल्याउनु र उनीहरूको नियमित पठनपाठन सुनिश्चित गर्नु आवश्यक रहेको छ। त्यसका लागि सम्बन्धित निकायबीच समन्वय गरी शैक्षिक सामग्री तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइने जनाइएको छ।

परिवारमै संरक्षण गर्ने सरकारको योजना

सरकारले बाढी प्रभावित बालबालिकालाई सम्भव भएसम्म परिवारमै राखेर संरक्षण गर्ने नीति लिएको छ। परिवारका सदस्य उपलब्ध भएमा उनीहरूलाई आवश्यक सहयोग प्रदान गरी बालबालिकाको दीर्घकालीन संरक्षण तथा व्यवस्थापन गरिने सूचना अधिकारी चन्दले बताए।

पारिवारिक वातावरणमै बालबालिकाको संरक्षण गर्न सम्भव नभएमा परिवारमा आधारित हेरचाहको व्यवस्था गरिनेछ। संस्थागत हेरचाह तथा संरक्षणलाई भने अन्तिम विकल्पका रूपमा मात्र अपनाइने सरकारको तयारी छ।

यसका अतिरिक्त विशेष संरक्षणको आवश्यकता भएका बाढी प्रभावित बालबालिकाका लागि ललितपुरको ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरिएको छ। आवश्यक परेमा सरोकारवाला निकायले राष्ट्रिय बालअधिकार परिषद्मार्फत सिफारिस गरी उक्त केन्द्रबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

बाढीले घरपरिवार र अभिभावक गुमाएका बालबालिकाका लागि तत्काल सुरक्षित आश्रय उपलब्ध गराउनु महत्त्वपूर्ण भए पनि उनीहरूको दीर्घकालीन भविष्य सुनिश्चित गर्न शिक्षा, पारिवारिक पुनर्मिलन, मनोसामाजिक सहयोग र निरन्तर संरक्षणमा समेत ध्यान दिनुपर्ने देखिन्छ।

सम्बन्धित समाचार