१२ दिन ढिलो गरी नेपालबाट बाहिरियो यस वर्षको मनसुन

1.5k Shares

काठमाडौँ । यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन गत असोज १७ गतेदेखि बाहिरिन सुरु भएको थियो। विगतका वर्षको तुलनामा १२ दिन ढिलो गरी मनसुन पूर्ण रूपमा बाहिरिएको हो।

मनसुन बाहिरिएसँगै अब मुलुकमा वर्षायामको औपचारिक अन्त्य भएको छ। यद्यपि, मनसुन बाहिरिँदैमा वर्षाको सम्भावना पूर्ण रूपमा समाप्त नहुने मौसमविद्हरूले बताउँदै आएका छन्। स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण अझै पनि मौसममा परिवर्तन आउन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुन बाहिरिए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा मौसम बदली हुने तथा वर्षा हुन सक्ने सम्भावना रहन्छ। त्यसैले मनसुन बाहिरिएको अवस्थालाई आधार बनाएर मौसम पूर्ण रूपमा सफा रहने निष्कर्ष निकाल्न सकिँदैन।

सामान्यतया नेपालमा मनसुन जुन महिनामा भित्रिने र सेप्टेम्बर महिनाको अन्त्यतिर बाहिरिने गर्छ। तर, यस वर्ष मनसुन बाहिरिने प्रक्रिया असोज १७ गतेदेखि सुरु भई असोज २८ गते मात्र पूर्ण भएको हो।

मनसुनको बहिर्गमनसँगै मौसममा क्रमिक परिवर्तन देखिन थाले पनि स्थानीय तथा पश्चिमी वायुको प्रभावका कारण मौसमको अवस्था स्थानअनुसार फरक हुन सक्नेछ। -रासस

moonssoon.jpg

सम्बन्धित समाचार