हाइज्याकको हल्लापछि एयर इन्डियाको विमान जयपुरमा अवतरण, यात्रु सुरक्षित

1.6k Shares

काठमाडौं । जर्मनीको फ्र्यांकफर्टबाट भारतको नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको विमान सुरक्षा सतर्कतापछि राजस्थानको जयपुर डाइभर्ट गरिएको छ। विमान जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।

सुरुमा विमानमा बम रहेको धम्की आएको खबर सार्वजनिक भए पनि विमानस्थलका एक अधिकारीले बम धम्की नभई विमान अपहरण (हाइज्याक) सम्बन्धी हल्ला फैलिएको बताएका छन्।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार एआई २०३० उडान नम्बरको विमान अवतरणपछि विमानस्थलको आइसोलेसन क्षेत्रमा राखिएको थियो। त्यसपछि केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ), स्थानीय प्रहरी तथा बम पत्ता लगाउने र निष्क्रिय पार्ने टोलीले विमान र यात्रुका सामान जाँच गर्न थालेका थिए।

विमानस्थलका एक अधिकारीले घटनाबारे तत्काल निष्कर्ष निकाल्न नमिल्ने बताएका छन्। उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गर्ने क्रममा सुरक्षा सतर्कतासम्बन्धी सूचना प्राप्त भएको थियो। त्यसपछि हवाई ट्राफिक नियन्त्रण (एटीसी) र सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराइएको थियो। सतर्कतापछि विमानलाई निर्धारित गन्तव्य नयाँदिल्लीको सट्टा जयपुरतर्फ मोडिएको हो।

विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको बताइएको छ। उनीहरूलाई विमानबाट बाहिर निकालेर विमानस्थलको टर्मिनलभित्र तोकिएको सुरक्षित क्षेत्रमा राखिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

समाचार तयार पार्दासम्म एयर इन्डिया र विमानस्थल प्रशासनले घटनाबारे विस्तृत आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। विमानमा सुरक्षा सतर्कता उत्पन्न हुनुको वास्तविक कारण र हाइज्याकसम्बन्धी हल्लाको स्रोतबारे अनुसन्धान भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार