काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको आज चौथो दिन नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन देवी कुष्माण्डाको विधिपूर्वक पूजा गरी श्रद्धा र भक्तिपूर्वक आराधना गर्ने धार्मिक परम्परा छ।
धार्मिक मान्यताअनुसार देवी कुष्माण्डालाई सृष्टिकी आदिशक्ति तथा ब्रह्माण्डको सृजना गर्ने देवीका रूपमा पूजा गरिन्छ। अष्टभुजा भएकी देवी कुष्माण्डाको स्वरूपलाई शक्ति, ऊर्जा, तेज र सृजनाको प्रतीक मानिन्छ।
नवरात्रका नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गर्ने परम्पराअनुसार चौथो दिन देवी कुष्माण्डाको उपासना गरिन्छ। देवीको पूजा गर्नाले सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
नवरात्रको अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ। भक्तजनले स्नान गरी शुद्ध भएर घरमा स्थापना गरिएको दसैँघर तथा पूजा कोठामा देवीको पूजा आराधना गर्ने, दुर्गा सप्तशती पाठ गर्ने र दीप प्रज्वलन गर्ने गर्छन्।
बडादसैँको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको नवरात्रमा प्रत्येक दिन नवदुर्गाका फरक–फरक स्वरूपको पूजा गरिन्छ। नौ दिनसम्म चल्ने यो धार्मिक अनुष्ठान विजयादशमीका दिन टीका, जमरा र आशीर्वाद ग्रहण गरेसँगै विशेष उत्सवका रूपमा मनाइन्छ।