बडादसैँको रौनक बढ्दै, मैतीदेवी मन्दिरमा भक्तजनको चहलपहल

1.2k Shares

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नौ दुर्गामध्येकी दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक देवीको पूजा गर्दै श्रद्धालुहरूले सुख, शान्ति, समृद्धि र शक्ति प्राप्तिको कामना गरिरहेका छन्।

नवरात्र सुरु भएसँगै देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको छ। बिहानैदेखि श्रद्धालुहरू मन्दिर पुगेर दर्शन, पूजाआजा तथा धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।

काठमाडौँको मैतीदेवी मन्दिरमा पनि बिहानैदेखि दर्शन तथा पूजाआजा गर्ने भक्तजनको चहलपहल देखिएको छ। दसैँको धार्मिक महत्त्वसँगै मन्दिरहरूमा हुने विशेष पूजाआराधनाले राजधानीसहित देशका विभिन्न स्थानमा पर्वको उल्लास थपिएको छ।

हिन्दू धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवी तपस्या, त्याग, संयम र साधनाको प्रतीक हुन्। नवरात्रको दोस्रो दिन उनको पूजा गर्नाले धैर्य, आत्मबल र आध्यात्मिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।

बडादसैँलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयका रूपमा समेत मनाइन्छ। यो पर्वमा दुर्गा भवानीको आराधना, टीका–जमरा, पारिवारिक भेटघाट र आशीर्वाद आदानप्रदान गर्ने परम्परा रहिआएको छ।

सम्बन्धित समाचार