बूढीगण्डकीमा लेदोसहितको बाढी, मानवीय क्षति र पूर्वाधारमा क्षतिको प्रारम्भिक विवरण

946 Shares

काठमाडौँ । गोर्खाको चुमचेटनजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुटेपछि बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको प्रारम्भिक आकलन गरिएको छ। नेपालका सरकारी अधिकारीहरूबाट प्राप्त प्रारम्भिक विवरणको समीक्षा गर्दै एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले यस्तो आकलन सार्वजनिक गरेको हो।

नेपाली समयअनुसार आइतबार बिहान करिब ४ बजे बूढीगण्डकी नदी करिडोरमा हिलो, लेदो र भग्नावशेषसहितको ठूलो बाढी बग्न थालेको थियो। बाढीका कारण नदीको बहावमा उतारचढाव देखिएपछि बूढीगण्डकी, त्रिशूली र नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन अधिकारीहरूले चेतावनी दिएका छन्।

केही व्यक्ति बेपत्ता, घर र पुलमा क्षति

प्रारम्भिक विवरणअनुसार बाढीका कारण केही मानिस बेपत्ता भएका छन्। नदीको तीव्र बहावले घर, पुल तथा नदी किनारका विभिन्न पूर्वाधार बगाएको जनाइएको छ। सेल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रमा समेत क्षति पुगेको खबर छ।

यद्यपि, मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र राहतका प्रयासलाई तीव्र बनाइएको छ।

एकपछि अर्को विपद्को जोखिम

गिरोङ–रसुवा क्षेत्रमा भएको विपद्को केही समयपछि बूढीगण्डकीमा आएको बाढीले हिमाली क्षेत्रमा एउटा विपद्ले अर्को विपद् निम्त्याउन सक्ने जोखिमलाई पुनः उजागर गरेको छ। पहिरो, हिमपहिरो, नदी थुनिने घटना र अचानक बाँध फुट्दा आउने बाढीले हिमाली बस्ती तथा नदी करिडोरमा बसोबास गर्ने समुदायलाई गम्भीर जोखिममा पार्न सक्छन्।

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले पछिल्ला घटनाले हिमाली समुदाय र नदी करिडोरहरू आकस्मिक विपद्को उच्च जोखिममा रहेको देखाएको बताएका छन्।

उनका अनुसार तत्काल उद्धार र राहतमा ध्यान दिनु आवश्यक भए पनि भविष्यमा यस्ता विपद्को जोखिम घटाउन बाढीको मुख्य कारण पहिचान गर्नु उत्तिकै महत्त्वपूर्ण छ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीति प्रमुख चियाङगोङ झाङका अनुसार पहिरोले नदीको बहाव रोकेर अस्थायी बाँध बनाएको र उक्त बाँध फुटेपछि लेदोसहितको बाढी तल्लो तटीय क्षेत्रमा बगेको प्रारम्भिक विश्लेषणले देखाएको छ।

उनले भिरालो हिमाली क्षेत्रमा पहिरो र नदी प्रणालीको एकीकृत अनुगमन आवश्यक रहेको उल्लेख गरेका छन्।

यसअघि पनि आएको थियो आकस्मिक बाढी

बूढीगण्डकी उपत्यकामा यसअघि सन् २०२४ को अप्रिलमा पनि ठूलो बाढी आएको थियो। इसिमोडको अध्ययनअनुसार त्यसबेला मनास्लु हिमनदीको मुखबाट ठूलो हिउँपहिरो खसेर बीरेन्द्र तालमा पुगेपछि तालको पानी विस्थापित भएको थियो। त्यसबाट बूढीगण्डकी नदीमा अचानक बाढी आएको अध्ययनले देखाएको थियो।

पछिल्लो घटनाले हिमाली क्षेत्रमा प्राकृतिक जोखिमको निगरानी, पूर्वसूचना प्रणालीको विकास तथा नदी तटीय बस्तीको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

इसिमोडले अक्टोबर ११, २०२६ बिहान ११ः३० बजेसम्म उपलब्ध सार्वजनिक विवरणका आधारमा प्रारम्भिक विश्लेषण तयार पारेको जनाएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले घटनासम्बन्धी विवरण र क्षतिको आँकडा परिवर्तन हुन सक्ने जनाइएको छ।

सम्बन्धित समाचार