हेटौँडा । मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै राजधानी आवतजावत गर्ने सवारीसाधनको चाप बढेको छ। चाप व्यवस्थापन गर्न मकवानपुर प्रहरीले त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमन सञ्चालन गरिरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकता दिइएको छ। धादिङको गल्छी क्षेत्रमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं जाने तथा काठमाडौंबाट हेटौँडा आउने सवारीसाधनको चाप बढेको उनले बताए।
त्रिभुवन राजपथ साँघुरो हुनुका साथै घुम्तीहरूमा ठूला सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने भएकाले आलोपालो प्रणाली लागू गरिएको छ। सवारीको चाप र सडकको अवस्थाअनुसार कतिपय सवारीसाधनलाई एकदेखि दुई घण्टासम्म रोक्नुपर्ने अवस्था रहेको विष्टले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्धारण गरेको व्यवस्थाअनुसार त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारीसाधनलाई सञ्चालन अनुमति दिइएको छ। त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न रोक लगाइएको छ।
साना यात्रुवाहक सवारीसाधनका लागि भीमफेदी सडकखण्डबाट आवागमनको व्यवस्था मिलाइएको छ। हेटौँडाको चौकीटोलमा टाटा सुमो तथा विद्युतीय सवारीसाधन पार्किङ गर्ने र यात्रु चढाउने व्यवस्था गरिएको छ। भीमफेदी सडकखण्डमा साना सवारीसाधनको दोहोरो आवागमन भइरहेको छ भने देउराली र जुरिखेतलगायत स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
यसैबीच, बडादसैँलाई लक्षित गरी हेटौँडा बसपार्क र चौकीटोलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। यात्रुले बढी भाडा तिर्नुपर्ने अवस्था, सवारीसाधन चढ्न हुने कठिनाइ तथा सडकको अवस्थाबारे जानकारी लिन सक्ने गरी सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि साँघुरा सडक, अप्ठ्यारा घुम्ती तथा जोखिमयुक्त स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ। चालकलाई तीव्र गतिमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न र सडकको अवस्थाअनुसार सावधानी अपनाउन आग्रह गरिएको छ।
उपलब्ध ट्राफिक जनशक्तिलाई सवारी व्यवस्थापनमा परिचालन गरिएको जनाउँदै प्रमुख विष्टले सवारीको चाप र सडकको अवस्थाअनुसार व्यवस्थापन थप प्रभावकारी बनाइने बताएका छन्।